राष्ट्रिय माविको ७५ वर्ष: विद्यार्थीको निरन्तर रोजाइ, अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन

  • वासुदेव पौडेल र ऋषिराम बराल

अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनि विद्यार्थी आफैं विद्यालय रोज्दै भर्ना गरिरहेका छन् ।​

विसं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय पछिल्लो समय गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालयमध्येको एक मानिन्छ । पछिल्ला केही वर्षयता यस विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षणका बढिरहेको छ ।

कक्षा १ देखि १० सम्मका लागि बर्सेनि झण्डै तीन सयको सङ्ख्यामा नयाँ विद्यार्थीले आवेदन दिने गरेका विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सीमित स्रोत, विद्यालयको क्षमता, पूर्वाधारलगायत कारणले एक सय विद्यार्थी भर्नाबाट वञ्चित हुने गरेका छन् ।

विद्यालयले बिहानका कक्षा सञ्चालन गर्दा २०६४/६५ सालतिर दुई हजार आठ सयसम्म विद्यार्थी भर्ना गर्ने गरिएको सुनाउँदै प्रअ सापकोटाले हाल एक हजार चार सय ३२ विद्यार्थी अध्ययन गरिरहेका जानकारी दिए ।​

अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन

विद्यालयमा हाल प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसीडी)देखि कक्षा १२ सम्म ४९ जिल्लाबाट पोखरामा आएर बसोबास गर्ने विद्यार्थी अध्ययनरत रहेका प्रअ सापकोटाले जानकारी दिए । उनका अनुसार विद्यालयमा सञ्चालित ईसीडीदेखि कक्षा तीनसम्म ‘सेमी मन्टेश्वरी’ विधिमार्फत पठनपाठन भइरहेको छ ।

कक्षा ४ देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पूर्ण निःशुल्क रुपमा सञ्चालनमा रहेका बताउँदै प्रधानाध्यापक सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुशासन, नियमितता र प्रभावकारी शिक्षण सिकाइ तथा अतिरिक्त क्रियाकलाप अन्य सामुदायिक विद्यालयका लागि अनुकरणीय रहेको बताए ।

‘हरेक वर्ष यहाँ पढ्न चाहने विद्यार्थीको सङ्ख्या आवश्यकताभन्दा बढी हुँदै गएका छ । प्रवेशका लागि लिइने प्रवेश परीक्षामा आउने सङ्ख्या यसको उदाहरण हो’, उनले भने ।

महानगरभित्रको ईसीडीदेखि कक्षा १० सम्म कुनै शुल्क नलिएर (परीक्षा शुल्क समेत) अङ्ग्रेजी माध्यममा शिक्षण गराउने एक मात्र विद्यालय भएको दाबी गर्दै प्रअ सापकोटाले कक्षा ११ र १२ मा पनि अत्यन्तै सुलभ शुल्कमा प्रायः सबै विषय समूहमा अध्ययन अध्यापन भइरहेको जानकारी दिए ।

उनका अनुसार विसं २०५४ देखि प्रातः सत्रमा कक्षा ११ र १२ तथा दिवा सत्रमा ईसीडीदेखि कक्षा १० सम्म पढाइ भइरहेकामा विद्यालयको व्यवस्थापन समितिको निर्णयअनुसार विसं २०७८ देखि सबै कक्षा दिवा सत्रमा सञ्चालन भइरहेका छन् ।

दिवा सत्रमा मात्रै पठनपाठन भएकाले विद्यालयका भवन तथा कक्षा कोठाको अभाव हुने गरेको प्रअको भनाइ थियो । उनले बिहान प्रार्थना गराउने स्थल, पिउने पानी, हात धुने पानीका धारा, शौचालय, खेलकुद मैदान, चमेना गृह, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशालालगायत पूर्वाधार थप गर्नुपर्ने अवस्था आएको बताए ।

पोखराका ऐतिहासिक शैक्षिक संस्थामा भएका विभिन्न अभिलेखका आधारमा यस विद्यालयको स्थापना विसं २००६ मङ्सिर २० गते पब्लिक मिडिल स्कुलको नाममा भएको थियो । 

विद्यालयको तत्कालीन सञ्चालक समितिको अध्यक्षमा वडा हाकिम धनशमसेर जबरा, सचिवमा ऋषिकेशव पराजुली, कोषाध्यक्षमा प्रेमराज मुल्मी, सहसचिवमा सुन्दरप्रसाद मर्सानी र सदस्यमा दयाशङ्कर पालिखे र श्यामप्रसाद कर्माचार्य थिए । विसं २००७ मा विद्यालयले स्थायी स्वीकृति प्राप्त गरेको थियो ।

विद्यालय सञ्चालन गरिएको नारायणस्थानमा भवन निर्माणका लागि जग खन्दा जमिन भासिएपछि पोखरा १ मा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए ।

उनका अनुसार तत्कालीन समयमा विद्यालयले चर्चेको जग्गा स्व रत्नाखर पराजुली र उनको परिवारको नाममा थियो । विद्यालयलाई करिब ७२ रोपनी अमूल्य जग्गा प्रदान गरेर पराजुली परिवारबाट ठूलो योगदान भएको उनले बताए ।

विद्यालयको विसं २०१३ मङ्सिर २१ गते तत्कालीन सञ्चालक समिति, श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माणका लागि सम्झौता भएपछि यस भवन शिलान्यास भएको इतिहास सुरक्षित रहेको राणाले जानकारी दिए ।

प्रशासनिकबाहेक अन्य भवनका ढलान प्राविधिक रुपमा जीर्ण भई असुरक्षित देखिएकाले विसं २०६७ टिनका छानाले प्रतिस्थापन गरिएको उनले बताए ।

शैक्षिक उपलब्धिमा उत्कृष्ट

विद्यालयबाट विसं २०११ मा प्रथम पटक एसएलसी परीक्षामा पाँच विद्यार्थी सहभागी भएकामा चार जना उत्तीर्ण भएको अभिलेख रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राणाले जानकारी दिए । ‘विसं २०१५ देखि राष्ट्रिय बहुउद्देश्यीय उच्च माविका रुपमा सञ्चालन गरिएको थियो । विसं २०२८ देखि पुनःसाधारण माविको रुपमा आफ्ना शैक्षिक क्रियाकलाप अगाडि बढाएको थियो’, उनले भने ।

विसं २०३१ को एसएलसी बोर्डमा विद्यालयका दानकुमार प्रधान र शङ्करराज श्रेष्ठले क्रमशः प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए । विसं २०१८ र २०२५ को नतिजामा नेपालकै उत्कृष्ट १० भित्र परेको गौरवमय इतिहास विद्यालयमा सुरक्षित रहेको अध्यक्ष राणाको भनाइ थियो ।

विसं २०४५ मा पोखराको पहिलो पब्लिक क्याम्पसका रुपमा पोखरा बहुमुखी क्याम्पसको स्थापना यसै विद्यालयमा भएको थियो ।

स्थापनाको ४८औं वर्षसम्म कक्षा १० सम्म मात्र पढाइ भइरहेकामा विसं २०५४ देखि कक्षा ११ र १२ को पढाइ सञ्चालनमा ल्याएको उनले बताए । पृथ्वीनारायण क्याम्पस, पोखराले प्रवीणतापत्र तहको अध्यापन खारेज गरेपछि प्रवीणता तह पढ्ने विद्यार्थी झन बढेका उनको भनाइ थियो ।

विद्यालयबाट उत्पादित प्रतिभा देशको राजनीतिक, प्रशासनिक, व्यापारिक, साहित्यिक, साङ्गीतिक, औद्योगिक, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पुगेका पूर्व विद्यार्थी एवं पत्रकार रोहितराज पराजुलीले बताए ।

स्थापनाको ७५औं वर्ष पुगेको उपलक्ष्यमा यही मङ्सिर २० गतेबाट विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको व्यवस्थापन समितिका अध्यक्ष राणाले जानकारी दिए । प्रभातफेरीबाट कार्यक्रमको शुभारम्भ गरी प्रत्येक महिनाका लागि कम्तीमा १/१ कार्यक्रम गर्ने नीति लिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै