स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका –५ मा रहेको धार्मिक पर्यटकीय स्थल डहरे देउराली र आँधीखोला –२ मा रहेको अन्धाअन्धी दहको प्रवर्धनमा कास्केली अधिकृत समाज जुटेको छ ।
समाजले हरेक वर्ष धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्धन गर्दै अएकोमा यस वर्ष प्राचीन कालदेखि चर्चामा आएका तीर्थस्थल डहरे देउराली, अन्धाअन्धी दहलाई समेटेको हो । समुद्र सतहदेखि दुई हजार २६६ मिटर उचाइमा रहेको डहरे देउराली प्राचीन धर्मग्रन्थमा पनि उल्लेख भएको तीर्थस्थल हो ।
मोक्षद्वारी बालसिद्ध योगाश्रम डहरेका पीठाधीश पशुपत्यानन्द गिरीजी महाराजले अठार पुराणमध्येको स्कन्दपुराणमा नीलगिरी पर्वत, सिद्धेश्वर महादेव र कालीशक्ति डहरेको नाम उल्लेख भएको बताए ।
परापूर्वकालमा यहाँ डगरा नाम गरेका ऋषिले तपस्या गर्नुभएको र डगरा ऋषिले तपस्या गरेको स्थान भएकाले अपभ्रंश भइ डहरे हुन गएको स्थानीयको भनाइ छ । वि।सं १९९७ मा तत्कालीन पर्वतको लुङ्खुका षडानन्द अधिकारी (बालब्रह्मचारी) पहराभित्र बसेर तपस्या गरेका थिए ।
विशेषगरी नवदुर्गा, शिवरात्री, बाला चतुर्दशीजस्ता चाडपर्वसहित हरेक मङ्गलबार र शनिबारका दिन यहाँ ठूलो संख्यामा दर्शनार्थी आउने गर्छन् । अग्लो स्थानमा अवस्थित भएकाले यहाँबाट स्याङ्जाका अधिकांश भागसहित पर्यटन राजधानी पोखरा र आसपासका कुस्मा, बाग्लुङलगायत जिल्लाका बजार, हिमशृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ ।
सो क्रममा आँधिखोला गाउँपालिका –२ मा पर्ने अन्धाअन्धी दहको पनि प्रवर्धनात्मक भ्रमण गरिएको समाजले जनाएको छ । अन्धाअन्धी दह श्रवणकुमारको ऐतिहासिक कथासँग सम्बन्धित छ ।
किंवदन्ती अनुसार आफ्ना दृष्टिविहीन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिडेको क्रममा बाबाआमालाई तिर्खा लागेछ । नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएको थियो ।
आफ्ना छोराको मृत्युको वियोगले रोएका तिनै बाबाआमाको आँखाबाट खसेको आँसुले सो दह बनेको विश्वास गरिने गरिएको स्थानीय समाजसेवी लेखनाथ पौडेलले बताए । सो दहलाई आँधीखोलाको मुहानका रुपमा लिने गरिएको छ ।
दुईतर्फ कडा चट्टानसहितको पहाडको बिचमा रहेको दह, ओडारभित्र रहेको श्रवणकुमारका बाबाआमाको मूर्ति आदि यहाँका आकर्षण हुन् भने यस ठाउँमा विशेषतः बालाचतुर्दशीका बेला ठूलो मेला लाग्ने पौडेलले बताए ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा आसपासका गन्तव्यको प्रवर्धन जरुरी रहेको आवश्यकतालाई दृष्टिगत गर्दै कार्यक्रम आयोजना गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




