मुगु । सरकारले जारी गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटले रारालाई उपेक्षा गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बजेटले राराको प्रवर्धनमा उपेक्षा गरेको गुनासो गरे ।
‘स्वर्गकी अप्सरा रारालाई सङ्घीय सरकारले उपेक्षा गरेको छ, रारा घुम्न आउने, आनन्द लिने, वर्षमा एक पटक आएर फोटो खिँच्ने तर बजेटमा राराका विषयमा किन राज्य बोल्न नहुने ?’ उनले भने ।
नगरप्रमुख भामले मुगुको विकासका लागि सडक सञ्जालसँग जोड्नुपर्ने उल्लेख गर्दै जिल्लाको उज्यालो भविष्य बिजुली, स्वास्थ्य, शिक्षा र चेतना समृद्धिको आधार भएको बताए । यस क्षेत्रको वनमा मुगालीको भविष्य लुकेको उनले बताए । त्यस्तै, बजार व्यवस्थापन अर्को महत्त्वपूर्ण विषय भएको उनको भनाइ थियो ।
‘हाम्रो सिमाना चीनसँग जोडिएको छ । नाकच्यालाग्ना नाकासँग सीधा सम्पर्क छ । हाम्रा उत्पादन बिक्री वितरण गर्न कर्णालीलाई राज्यले बजारीकरण गर्न आवश्यक छ,’ उनले भने, ‘मुगुमा पर्यटन, कृषि, जलविद्युत्, जडीबुटी, जङ्गल र संस्कृतिको उचित उपयोग र प्रवर्धन गर्न आवश्यक छ, तर राज्यले यी सबै कुरालाई बजेटमा समेट्ने प्रयास गरेन ।’
मुगुलाई राज्यले उपेक्षा गर्दा मुगु पर्यटन क्षेत्रमा फड्को मार्न नसकेको उहाँको दाबी छ । राज्य सुगमकेन्द्रित भएको र दुर्गमलाई राज्यले नदेख्ने भामले आरोप लगाए ।
जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले सरकारको हरेक आर्थिक वर्षमा बजेट वक्तव्यमा नेपालको सबैभन्दा ठुलो रारा ताल र प्रसिद्ध तीर्थस्थल छायाँनाथ धाम त्यसैगरी जिल्लाको सदरमुकामदेखि तिब्बतको नाकच्यालाग्ना नाका सडक सञ्जालमा जोड्नलाई बजेटमा सम्बोधन गरिएको नपाइएको उनले बताए ।
राज्यले कर्णालीलाई जहिले उपेक्षा गर्ने गरेको पूर्व प्राचार्य देवबहादुर मल्लले बताए । राज्यशक्तिले राजस्व स्रोतको न्यायोचित बाँडफाँट गर्न आवश्यक रहेको उनको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






