पाँच पोखरीहरुको संग्रह : प्रकृतिको सुन्दर उपहार

सिन्धुपाल्चोक। पाँचपोखरी पर्यटकहरुका लागी पवित्र धार्मिक तथा पर्यटकीय गन्तव्य  हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । पाँचपोखरी पाँचओटा पोखरीहरुको संग्रह हो । 

पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । यहाँ भएका पोखरीहरुको नामाकरण विभिन्न भाषामा फरक फरक नाम दिइएको पनि पाइन्छ । त्यहाँ भएको ठूलो कुण्डलाई लामा भाषामा गौरी कुण्ड भनिन्छ । जुन कुण्डहरुमा सुनको हाँस, सुनको घोडा, सातओटा टाउको भएको नाग देखिन्छ र यो भाग्यमानीले मात्र देख्न सक्छ भन्ने मान्यता छ । प्राचीन कालमा इन्द्र भग्वान यहि पाँचपोखरीमा आएर तपस्या गर्नुभएको र यहिँको पाँचपोखरीको शिरबाट बग्ने नदिको नाम इन्द्रावती नदी रहेको भन्ने किम्बदन्ती छ । 

पाँचपोखरी शिव मन्दिरमा जनैपूणिर्माको दिन ठूलो मेला लाग्छ । यस समयमा भक्तजनहरु शिव भग्वानको दर्शन गर्न टाढाटाढाबाट हजारौँको संख्यामा पाँचपोखरी पुग्ने गर्दछन् ।  

पाँचपोखरी पदयात्रा २ देखि ३ दिनमा पूरा गर्न सकिने राजधानीबाट नजिक पर्ने पर्यटकीय गन्तव्य भएकाले पनि अहिले धेरै आन्तरिक पर्यटकको रोजाईमा यो क्षेत्र परेको छ । कार्तिक र मंसिर महिना नेपालमा पदयात्राका लागि उपयुक्त समय हो । बर्खा सकिएपछी र जाडो नलाग्दैको यो समय पदयात्राका लागि उपयुक्त समय मानिन्छ । अझ यो पटकको जाडो सिजनको पहिलो हिमपात भाईटिकाको भोलिपल्ट भएकोले धेरै पर्यटक यो समय पाँचपोखरी पुगेका छन् । हिमशृङखलाको धनी देशमा जन्मिएका हामी नजिकबाट हिउँको स्पर्श गर्दै पदयात्रा गर्नुको रमाईलो अनुभुती सायदै व्यक्त गर्न सकिएला । पाँचपोखरी पदयात्राका क्रममा देखिएका उच्च पहाडी र हिमाली जैविक विविधता, अनुपम प्राकृतिक सौन्दर्य, जुगल हिमशृंखलाको सुन्दरताले यो यात्रालाई अझ अविस्मरणीय बनाउँछ ।

पाँचपोखरी पदयात्रा गर्दा ठाउँ ठाउँमा आधारभुत सुबिधायुक्त होटल, बस्ने बासको व्यबस्था भएकाले यात्रा त्यति धेरै कठिन रहँदैन । पाँचपोखरीमा आधारभुत सुबिधा सहितको ११ ओटा होमस्टे र होटल छन्  । जुन हिमपातका कारण जाडो महिनाको केही हप्ता बाहेक अरु समय खुल्ला नै रहन्छ । यो पटक दशैँ तिहारको बिचमा करिब ४००० जनाले पाँचपोखरी क्षेत्र घुमेको पाँचपोखरी सिन्धु होटलका सन्चालक गोले तामाङले बताए । तिहार सकिए लगत्तै भने एकै दिन करिब २०० जना पाँचपोखरी घुम्न आएको उनी बताउँछन् । उनी भन्छन् "पहिला खासै यति धेरै पर्यटकहरु यो ठाउँ घुम्न आउँदैन थिए तर यो सिजनमा भने पहिलेको तुलनामा धेरै पर्यटकहरु घुम्न आएका छन् । " 

त्यस्तै पाँचपोखरी ढोमा शेर्पा होटल देउरालीका संचालक शील दोर्जे तामाङ भन्छन् " पाँचपोखरी पदयात्रा राम्ररी चल्न थालेको २ बर्ष भयो । बिस्तारै होटलहरु बन्दै छन् । बनेका होटलहरु पनि स्तरोन्नति हुँदै छन् । सायद अब यसले सिन्धुपाल्चोकको मात्र नभएर देशकै पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ । "

पाँचपोखरी पत्ता लागेको आधार (शिलालेखबाट जस्ताको त्यस्तै )

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट उत्तर पश्चिम ३ नम्बर क्षेत्रको साबिकको भोताङ गाविस १ नम्बर वडाको समुन्द्री सतहबाट करिब ४२०० मिटर उचाइमा रहेको यो तीर्थस्थल आजभन्दा अन्दाजी २३२५ वर्ष अगाडि प्रख्यात सिकारी बुम्बा रुवा वाइबा सिकार खेल्दै हाल पाँचपोखरी रहेको तीर्थस्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडि धान खेती गरिरहेको देखि यो के अचम्म हो यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धान खेती गर्ने मध्यका लोग्ने मानिस महादेव ले सिकारी बुम्बा रुवा वाइबालाई देख्ने बित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला पाँचपोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन् । यो दृश्य देख्ने पहिलो व्यक्ति गुम्बा रुवा वाईवालाई यस्तो  दृश्य देख्दा अचम्म लागेकाले यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाई गरेको हुनुपर्छ भनी मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ भन्ने सोची आफ्नो सिकारी कुकुरलाई लगाएको घण्टा फुकाली रोपाई गर्दागर्दै अलग भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्किए। यसै रोपाई गरेको स्थानमा धानको बाला खोज्ने क्रम हालसम्म पनि चलि आएको छ । 
पोखरीमा एक जोडी हाँस रहेको र त्यो हाँसको दृश्य जो कोही भाग्यमानीले मात्र देख्न सक्दछन् । पाँचवटा पोखरीले घेरिएको यस तीर्थस्थलमा एक चिज वर मागे भगवानले पुर्‍याइदिनेकिम्वदन्ती अनुसार भाद्र महिनाको एकादशीदेखि पूर्णिमाको दिनसम्म चल्ने मेलामा टाढाटाढाबाट हजारौं सङ्ख्यामा भक्तजनहरुलाई तीर्थ गर्न आउने भएकाले यो तीर्थस्थल ज्यादै लोकप्रिय छ ।

कसरी पुग्ने त पाँचपोखरी ?

पहिलो दिन : काठमाडौंदेखि टुप्पिडाँडा 

काठमाडौं, जोरपाटीदेखि भोताङ र छिम्तीसम्म नियमित बससेवा उपलब्ध छ । काठमाडौं देखि मेलम्ची हुँदै लगभग ५–६ घन्टाको यात्रापछि भोताङ, छिम्ती पुग्न सकिन्छ । त्यहाँबाट लगभग 4 घन्टाको पैदल यात्रापछी देउराली, दुखानचौर हुँदै टुप्पिडाँडा पुगिन्छ । यहाँ मानवनिर्मित झरना, खोला माथीको काठको पुल, हरिया पहेँला, राता पातले भरिभराउ हरियाली जंगलले यात्रालाई अझ रोमाञ्चक बनाउँछ । 

दोस्रो दिन : टुप्पीडाँडादेखि पाँचपोखरी

पाँचपोखरी पुग्न उकालो अनि जंगलको बाटो छ । बीचमा खर्क अनि खाने–बस्ने ठाउँ पनि छन् । तापखर्क, चोकरडाँडा,नोस्याङ पाटी , लौरीबिना हुँदै करिब ६ देखि  ७ घन्टाको पैदल यात्रापछि पाँचपोखरी पुग्न सकिन्छ । यात्रामा कतै सिधा ओरालो, कतै सिधा उकालो, ढुङ्गाका सिँढी, साँघुरो घुम्ती घुम्ती परेको बाटो हुँदै जानुपर्छ । नोस्याङपाटी हेलि प्याडबाट देखि जुगल हिमाल रेन्ज, दोर्जे लाक्पा, गन्छेपो हिमालले मन नै प्रफुल्ल बनाउँछ । अझ नोस्याम पाटीबाट उकालो लागेपछी बाटोमा दायाँ र बायाँ ठुल्ठूला ढुंगाबीचमा सानो बाटो छ, जसलाई किंवदन्तीअनुसार दक्षिणढोका भनिन्छ । 
उकालो चड्दै जाँदा उचाईको कारण लेक लाग्ने सम्भावना पनि रहन्छ । यात्रा थोरै कठिन हो तर नजिकबाट हिमाल देख्न पाउनु अझ हिउँको स्पर्श गर्दै यात्रा गर्न पाउनु आफैँमा स्वर्गीय अनुभुती हो । 

तेस्रो दिन : पाँचपोखरीदेखी देउराली

बिहानै उठेर पाँचपोखरी माथी रहेको भ्यु पोइन्ट बाट पाँचपोखरीको मनोरम दृश्य हेरिसकेपछी पोखरीको उत्तर पश्चिममा अवस्थित शिव मन्दिर दर्शन गरि ओरालो ६ घन्टा हिँडेर देउराली फर्किन सकिन्छ । 

चौँथो दिन : देउरालीबाट छिम्ती हुँदै काठमाडौं फर्किन सकिन्छ । बिहानै छिम्तीबाट काठमाडौंका लागि बस चढ्न सकिन्छ । 

पाँचपोखरीको ट्रायल अलिक कठिन भएपनि  प्रकृति आफैँमा पूर्ण हुन्छ भन्ने राम्रो उदाहरण दिन सक्ने यस क्षेत्र काठमाडौं नजिकको राम्रो ट्रेकिङ मार्गको रूपमा परिचित हुनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै