समाज सुधारक राष्ट्रिय विभूति : महागुरु फाल्गुनन्द

काठमाडौँ ।  समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज देशभर मनाइँदैछ । संसारभरि फैलिएका किरात समुदायले फाल्गुनन्द जयन्ती (कात्तिक २५) मनाउने गर्दछन्। सरकारले २०६६ साल मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको जन्म १९४२ साल कात्तिक २५ गते इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङको चुम्चिनाम्बामा भएको थियो । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा उनको निधन भएको हो । विशेषतः नेपाल, भुटान, भारतलगायतका ठाउँमा फाल्गुनन्दको नाम गौरवसाथ लिइन्छ । यसर्थ किरातहरुका गुरु फाल्गुनन्द लिङ्देन नेपालका एक जना बहुचर्चित गुरु, सत्यवक्ता र साधु हुन्  ।

उनले दिएका दिव्यज्ञान अनि परम्सत्य वचनहरुले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्यमार्ग देखाउने गर्दछन् । उनले समाज सुधारका लागि जन्मभूमि–चुक्चिनाम्बा, ज्ञानभूमि–फुल्लुङी खत्रक्पा, कर्मभूमि–पाँचथरको लोब्रे–सिलौटी, तीर्थभूमि–कुम्भकर्ण यी चार क्षेत्रलाई उपयोगमा ल्याउन र समाज सुधार गर्न वि.सं. १९८८ वैशाख २४ गते १७ थुम १० लिम्बूवानको बृहत् किरात धर्म चुम्लुङ गरी सातबुँदे लिखित सत्य धर्म मुचुल्का खडा गरी जन्ममा न्वारन, यौवनमा विवाह, मरणमा अन्त्येष्टिमा बलि पूजा निषेध, आहारमा मद्यमांस प्रतिबन्ध, छोरीचेलीको सोत–रीत नलिने, स्त्री जातिमा रजस्वला पानी बार्ने, माङहिम र निसामहिम विद्यालय बनाउने, संस्कारगत संस्कृति पालना गर्ने काजकिरिया बार्ने, सुतक–मृतक बार्ने, शुद्ध पिण्ड मात्र चढाउने, खाँडी कपडा बुन्ने कपास उत्पादन गर्ने आदि मानव जीवनमा वरण गरिने सम्पूर्ण कर्म संस्कारको समय सापेक्ष एकीकृत गराई तत्कालीन शासनकालमा एउटा पृथक् सामाजिक क्रान्तिस्वरुप महान् कार्य गरेका थिए ।

मूलतः कालान्तरमा यो सातबुँदे सत्यधर्म मुचुल्कालाई १० बुँदाका रुपमा विकसित गराइयो । यस्ता महान् व्यक्तित्वहरुले आफ्नो  ज्ञान, अनुभव र सीपका आधारमा युगौ“युगसम्म समाजलाई सकारात्मक पथतर्फ उत्प्रेरित गर्ने र मोक्षको मार्ग देखाएर जाने गर्दछन् । आज त्यस्तै एक जना पुरुषको जन्म जयन्तीको तथ्य अनि इतिहासहरु उजागर गर्न आवश्यक देखिन्छ । यसै कारणले होला, उनको दिव्य वचन अनि ज्ञानलाई आत्मसात् गर्दै २०७० सालमा प्रथमपटक नेपालमा लिम्बू सम्मेलन आयोजना गरिएको थियो ।

महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते आइतबार इलामको इभाङस्थित चुक्चिनाम्बामा बाबु जगुनबाज लिङ्देन र आमा हंसमती बेघाको कोखबाट भएको थियो । उनी आमाबाबुका साइला छोरा थिए। गरिब लिङ्देन लिम्बू परिवारमा जन्मिएका उनको शरीरले जाँडरक्सी र मासु बाल्यकालदेखि नै सहन सकेन । उनी वि.सं. १९६४ मा दार्जिलिङको घुम पहाडबाट भारतीय आर्मीमा भर्ती भए । पहिलो विश्वयुद्धमा फौजी जीवन छाडेपछि उहाँ भारतका विभिन्न तीर्थधाम डुल्न निस्किए। जोसमनी पन्थका शशिधर स्वामीका चेला मधुनन्दसँग नजिकिन पुगेपछि योग गर्ने, ब्रह्म ज्ञान खोजी गर्ने कार्यमा लागे ।

उनको विचारधारामा आमूल परिवर्तनशील भएर सत्य आहार, सत्य विहार, सादगी भोजन गर्नुपर्छ, सत्य कर्म गर्नुपर्छ, सत्य बोल्नुपर्छ भन्ने मान्यता बोके । त्यसपछि फर्केर आनै कर्मथलोमा आई लिम्बू सामाजिक जनजीवनको दर्दनाक अवस्था सम्हाल्न फाल्गुनन्दले थुमथुमका लिम्बू, सुब्बा बोलाएर वि.सं. १९८८ वैशाख २४ गते पाँचथरको चोक्मागुको लब्रेकुटीमा सत्य धर्म मुचुल्का गराए । मुचुल्कामा छोरीचेलीको सोत खान नहुने, संस्कृति, संस्कार, अनुष्ठानमा मदमंस प्रयोग गर्न नहुने मुख्य बुँदा थिए । यो मुचुल्काले विशेष गरी विपत्र लिम्बूको जीवनमा ठूलो परिवर्तन ल्यायो ।
उनको भनाइ थियो, जति पनि संसारभरिका सबै प्राणीहरु भगवानका सन्तान हुन् उनीहरुमा विभेद कहिले पनि गर्नु हुँदैन, सबैमा समान व्यवहार गर्नु पर्दछ । उहाँ किरात समुदायका धर्मगुरु भए पनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् । उनले किरात धर्म, दर्शन र संस्कृतिको पुनर्जागरणका क्रममा कुम्भकर्ण हिमशृंखलालाई किरात धर्मावलम्बीको तीर्थभूमि र मुक्तिभूमिका रुपमा पहिचान गरेका थिए । उनको सर्वाधिक महङ्खवपूर्ण कार्य सत्यधर्म मुचुल्का तयार पार्नु हो ।

लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बूवान क्षेत्रका शासक, विद्वान् र धार्मिक तथा सामाजिक अगुवालाई वि.सं. १९८८ वैशाख १० गते पाँचथरको फिदिमस्थित सुम्हात्लुङमा भेला गराई सत्य धर्म मुचुल्का खडा भएको थियो । त्यस्तैगरी जन्मभूमि, ज्ञानभूमि, कर्मभूमि र तीर्थभूमि स्थापना क्रममा मोक्षको मूलथलो फक्ताङ्लुङ हिमालको पवित्र काखमा देवदर्शन स्थापना गरेका फाल्गुनन्दले एकपटक मानिसले त्यहाँ पुग्नु अनिवार्य छ भनेका छन् । महागुरुका सात अंगका रुपमा भाषा, लिपि, संस्कार, संस्कृति, इतिहास, धर्म, वेशभूषा र गरगहना मानव पहिचान हुन् भनेर व्याख्या विश्लेषण गरिएको छ । त्यसैले उनलाई राष्ट्रियताका हिमायती, समाज सुधारक, धर्मोत्थापक, ईश्वरीय चिन्तक, मानव उपासक हुन् भनेर पनि भनिएको छ ।

अतः आदिवासी जनजातिको मुन्धुम शास्त्र मानवजातिको जीवनाधार भएको सत्यहाङ्माले आफ्नो  ज्ञानसूत्र विश्व शान्ति र मानव एकता आज विश्व शान्ति सहिष्णु, अहिंसा, दया, शान्ति र सत्य कहलिएको छ । यसका साथै सत्यधर्म मुचुल्कामा छोरीचेलीको विवाह गर्दा सोत–रीत पैसा लिन नहुने, भगवानको पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महङ्खवपूर्ण सामाजिक एवं सांस्कृतिक पक्षहरु समेटिएका छन् ।

अन्त्यमा भन्नुपर्दा उनी आफ्नो  भाषा, लिपि, संस्कृति, संस्कारमा पोख्त थिए तर उनले संकलन गरेको मुन्धुम मौलिक अवस्थामा भने हालसम्म पनि पढ्न पाइएको छैन । अतः सत्यधर्म मुचुल्का निर्माण भएको दिन वैशाख १० गतेलाई समाज सुधार दिवसका रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किरात समुदायको धार्मिक, सांस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महङ्खवपूर्ण प्रयत्न गरेको किरात समुदायका अगुवाको भनाइ छ । यसअघि किरात समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो ।

फलतः मुचुल्का खडापछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत–रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ । यसरी लिंगीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नुपर्नेमा मुचुल्काले जोड दिएको छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानका रुपमा व्याख्या गर्ने प्रयास गरेको छ । उनको न्वारानको नाम नरध्वज थियो । उनले हातमा फलामको चुरा लगाएका कारण फलामसिंह नामले समेत चिनिन्छन् । उनले कालान्तरमा फाल्गुनन्द नामबाट प्रसिद्धि कमाए । यसै सिलसिलामा किरात धर्म, संस्कृति र कर्मकाण्डको सुधार गर्ने कार्यमा अहोरात्र खट्ने क्रममा वि.सं. २००५ साल चैत २२ गते पाँचथरको इम्बुङमा फाल्गुनन्दको देहवसान भएको थियो ।

इलाममा जन्म भए पनि पाँचथरलाई कर्मथलो बनाउनुभएका महागुरुको तपोभूमि लब्रेकुटी र समाधिस्थल सिलौटी पाँचथरको फिदिम नगरपालिकामा पर्छन् । फाल्गुनन्दले दिएको योगदानको सम्मानस्वरुप नेपाल सरकारले उनलाई वि.सं. २०६६ साल मंसिर १६ गते १६ औ“ राष्ट्रिय विभूति घोषणा गरेको थियो । यसका साथै फाल्गुनन्दको नाममा हुलाक टिकटसमेत प्रकाशित भएको छ । उनीद्वारा प्रतिपादित किरात धर्म राज्यको चौथो स्थानमा छ । यो धर्म १५–२० मुलुकमा विस्तार भएको छ भनी उल्लेख गरिएको छ तर यसको भने यकिन तथ्यांक छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै