धनगढी । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन संरक्षणमा राज्यले चासो नदिएको स्थानीय संरक्षणकर्मीले गुनासो गरेका छन् । कैलालीको नदीमा पाइने डल्फिन संरक्षणमा स्थानीय समुदाय क्रियाशील रहे पनि राज्य उदासीन रहेको उनीहरुको गुनासो छ ।
कुनै पनि तहका सरकारले साथ नदिएको संरक्षणकर्ताको गुनासो छ । उनीहरुले राज्यले डल्फिन संरक्षण क्षेत्रसमेत घोषणा गर्न नसकेको बताएका छन् । “डल्फिन देखापर्ने नदी जलाधार क्षेत्रलाई हामी सबैले डल्फिन संरक्षित क्षेत्र भन्दै र चिनाउँदै आएका छौं । यस क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने हाम्रो माग हो” डल्फिन संरक्षणमा क्रियाशील टीकापुर नगरपालिका –७ का भोजराज ढुङ्गानाले भने ।
टीकापुर नगरपालिका –७, भजनी नगरपालिका –३ र ८ मा कर्णाली, मोहना, काँढा, कान्द्रा नदीमा सबैभन्दा बढी डल्फिन देखिएका छन् । यसै क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र र डल्फिन प्रजनन केन्द्र बनाउनुपर्ने स्थानीयको माग छ । यस वर्ष यी क्षेत्रमा डल्फिनका बच्चा विगत वर्षको तुलनामा बढी देखापरिरहेको जनाइएको छ ।
नौवटा बच्चासहित वयस्क गरेर करिब २५ वटासम्म यस वर्ष डल्फिन रहेको ढुङ्गानाले बताए । उनका अनुसार वर्षात सिजनमा डल्फिन यहाँ बच्चा जन्माउने र हुर्काउने गरेका छन् ।
यसैगरी, डल्फिन पर्यटन विकाससँग सम्बन्धित पूर्वाधार निर्माणमा पनि राज्यले तदारुकता नदेखाएको उनीहरुको गुनासो छ । डल्फिन अवलोकनका लागि स्वदेशी तथा विदेशी आगन्तुक आइरहेको जनाइएको छ । यद्यपि, डल्फिन अवलोकन गर्न जाने स्थानसम्म पुग्न सडक संरचना राम्रो छैन । डल्फिन पाइने क्षेत्रमा पर्या पर्यटन विकासका लागि सबैभन्दा पहिले सडक संरचना निर्माण गर्न आवश्यक रहेको स्थानीय नरेन्द्र रेग्मीले बताए ।
टीकापुर नगरपालिका –७ सुरक्षित भवनदेखि ढुङ्गाना टोल डल्फिन क्षेत्रसम्म र भजनी नगरपालिका –८ हुलाकी राजमार्गदेखि काँढा नदीसम्म गैरीनालामा पक्की पुलसहित कालोपत्रे बाटो निर्माण गर्न जरुरी रहेको उहाँको भनाइ छ । त्यस्तै, भजनी नगरपालिका –३ बर्दवाफाँटादेखि दैलेखी टोल र कुसुमघाटदेखि नयाँबस्ती डल्फिन क्षेत्रसम्म बाटो निर्माण गर्न आवश्यक रहेको जनाइएको छ ।
यसैगरी, भजनी नगरपालिका –८ र टीकापुर नगरपालिका –७ स्थित पथरैया र काँढा नदीको दोभानमा झोलुङ्गे पुल निर्माणको माग उनीहरुको विगतदेखिको हो । यो ठाउँमा पुल बनेमा स्थानीयलाई ओहोरदोहोर गर्न सहज त हुनेछ नै, त्यसले डल्फिन अवलोकनका लागि भ्युटावरको काम गर्ने जनाएको छ । पुल निर्माणका लागि दुई पटक सर्भे भए पनि अहिलेसम्म पुल नबनेको स्थानीय बताउँछन् ।
मोहना नदीको कटानले भजनी नगरपालिका –३ मा रहेको कुसुमघाट र नयाँ वस्ती उठीबास हुने त्रास छ । स्थानीयले नदी कटान नियन्त्रणको माग गरे पनि सुनुवाइ भएको छैन । दुवै गाउँलाई जोगाउन मोहना नदीमा बृहत तटबन्ध निर्माण गर्न आवश्यक रहेको ढुङ्गानाले बताए।
“यहाँका जनता लामो समयदेखि संरक्षणमा क्रियाशील छन् । त्यसैले उनीहरुलाई पनि बचाउन आवश्यक छ” उनले भने, “किनभने बस्ती जोगाउन राज्यले ध्यान दिएन भने जनतामा संरक्षण किन गर्ने भन्ने हुन सक्छ ।”
यसैगरी, नदी तटीय क्षेत्रका स्थानीयको जीविकोपार्जनमूलक कार्यक्रम राज्यले लागू गर्न आवश्यक रहेको जनाइएको छ । जीविकोपार्जनको कार्यक्रम लागु भएमा संरक्षणमा थप टेवा पुग्ने ढुङ्गानाले विश्वास व्यक्त गरे ।
अविनाश चौधरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






