हिमशिखरमा ड्रोन प्रयोग, फोहोर ढुवानी सहज

काठमाडौँ । हिमाल आरोहणका लागि डोरी टाँग्ने (बाटो बनाउने काम) र उच्च आधार शिविरबाट फोहोर ढुवानीमा ड्रोन प्रविधिको प्रयोग गरिएको छ । पछिल्ला वर्षमा नेपालका हिमचुचुराको आरोहणमा विश्वभरका आरोहीको उल्लेखनीय रूपमा वृद्धिसँगै बढ्दै गइरहेको फोहोर ढुवानी गर्न र आरोहणका लागि बाटो बनाउन ड्रोनको सफल प्रयोग गरिएको हो ।

एयर लिफ्ट टेक्नोलोजीले सगरमाथा र अमादब्लम हिमालको आधार शिविरभन्दा माथिल्लो शिविरबाट ड्रोनमार्फत ११ सय किलोभन्दा बढी फोहोर आधार शिविरसम्म ढुवानी गरेको छ । उक्त कम्पनीका निर्देशक मिलन पाण्डेले भने, “उच्च हिमाली क्षेत्रमा थुप्रिरहेको फोहोर आधार शिविरसम्म ओराल्न र आधार शिविरबाट अक्सिजनलगायतका सामग्री उच्च स्थानका आधार शिविरसम्म ढुवानी गर्न ड्रोन प्रविधि सफल देखिएको छ ।

हामीले यस प्रविधिमार्फत फोहोर ढुवानी मात्रै नभएर अघिल्लो आरोहणयाममा सगरमाथा आरोहण गर्ने बाटो बनाउने क्रममा डोरी, साना भ¥याङ, ५० भन्दा बढी अक्सिजन सिलिन्डरलगायतका अत्यावश्यक वस्तु आधार शिविरबाट दोस्रो आधार शिविरसम्म सफल रूपमा ढुवानी गरिसकेका छौँ ।”

 

सगरमाथाको पहिलो आधार शिविरबाट आधार शिविरसम्म सामान ढुवानी गर्न यसअघि करिब आठ घण्टा लाग्ने गरेकामा ड्रोनमार्फत साढे तीन मिनेटमै उक्त काम पूरा भएको उनले जानकारी दिए । त्यसै गरी आरोहणका लागि बाटो बनाउने कामसमेत निर्धारित समयभन्दा चाँडै सम्पन्न गर्न ड्रोनको उपयोग प्रभावकारी देखिएको उनको भनाइ छ ।

१५ डिग्री सेल्सियससम्मको चिसोमा पनि काम गर्न सक्ने र ६७ केजी भारवहन क्षमताको ड्रोनले छ हजार १३० मिटर उचाइबाट हिमालमा मानव उत्पादित फोहोर ढुवानी गरेको उनले बताए । सगरमाथाको दोस्रो आधार शिविर छ हजार चार सय मिटर उचाइमा रहेको छ ।

आरोहणमा प्रविधिको प्रयोगले हिमाल सफाइ र आरोही र आरोहणलाई थप सुरक्षित बनाउनका साथै अत्यावश्यक मानवीय सहायताका सामग्री ढुवानी, आरोहणका क्रममा हराएका आरोहीको खोजी तथा उद्धारमा समेत ड्रोनको प्रयोग प्रभावकारी हुने यहाँको भनाइ छ ।

कम्पनीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प–१ बाट २३५ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहोर सङ्कलन गरेको थियो । यस वर्ष सगरमाथाको दोस्रो आधार शिविर नजिकबाट ढुवानी गरेर आधार शिविर ल्याइएको २८५ केजी फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई बुझाइएको उनले जानकारी दिए ।

सरकारले हिमाल सफा राख्ने अभियान अन्तर्गत आरोहीले आरोहणबाट फर्किंदा आठ केजी फोहोर आफूसँगै बोकेर आउनुपर्ने व्यवस्था कार्यान्वयनमा राखेको छ । पर्वतारोहीका अनुसार आरोहीको धेरै भिड हुने सगरमाथा, ल्होत्से, आमादब्लम, मकालु, मनासलुलगायतका हिमालमा अत्यधिक फोहोर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै