सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ बुढी पोल्ने पर्व मनाइँदै छ । स्थानीय परम्परा अनुसार बिहानैदेखि गाउँका बालबालिकादेखि युवकयुवती र वृद्धवृद्धासम्म सामूहिक रूपमा एकत्रित भई विभिन्न वनस्पति–फुर्केघाँस, तुसारो, बेल्डो, गर्ङ्लो, बाँस, झ्याङ तथा रुखका हाँगाबिँगाबाट ‘बुढी’ नामक पुतली तयार पारिन्छ ।
धार्मिक विश्वास अनुसार बालबालिकालाई विषालु दुध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ को प्रतीकका रूपमा ‘बुढी’ नामक पुतलीलाई मानिन्छ । पौराणिक किंवदन्ती अनुसार भगवान् श्रीकृष्णले सो राक्षसीको वध गरेपछि सत्यको विजयको स्मरणार्थ यस पर्वको सुरुवात भएको मानिन्छ । पाटन नगरपालिका–३ का पण्डित जनकराज भट्टका अनुसार यो पर्वले असत्यमाथि सत्यको विजय र धार्मिक संस्कारको संरक्षण गर्ने सन्देश दिन्छ ।
यस पर्वमा बालबालिकादेखि वृद्धसम्मको सहभागितामा विशेष रूपमा तयार पारिएको बुढीलाई राँको बालेर सामूहिक रूपमा पोल्ने गरिन्छ । यस क्रममा गाउँलेले काँक्रो चपाउँदै ‘थुई बुढी थुई’ भन्ने चलन प्रचलित छ । पोलिसकेपछि बाँकी रहेको खरानीलाई घरको मूलद्वार, गोठ तथा गाईभैँसीको निधारमा दल्ने परम्परा छ । यसो गर्दा बिचल्ली, रोगव्याधि तथा अपशकुन टर्छ भन्ने विश्वास रहिआएको सुर्नया गाउँपालिका–३ की देवकी भट्टले बताइन् ।
बैतडीको मेलौली नगरपालिका–५ का ७८ वर्षीय हर्कबहादुर साउद भन्छन्, “हाम्रा बाउबाजेले पनि यसै गरी मनाउनुहुन्थ्यो । बुढी पोल्दा गाउँले मिलेर राँको बाल्ने, खुसी साट्ने र रोग टार्ने विश्वास अझै कायमै छ ।”
यस अवसरमा कतिपय स्थानमा देउडा, भुवो तथा सामूहिक नाचगान जस्ता सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको शिवनाथका सामाजिक अगुवा जानकी साउदले जानकारी दिइन् । उनका अनुसार यो पर्वले पुस्ता पुस्ताबिचको सम्बन्ध बलियो बनाउनुका साथै मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा पनि टेवा पु¥याएको छ ।”
सुदूरपश्चिमेली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सहकार्यको जीवित प्रतीकका रूपमा बुढी पोल्ने पर्वलाई आज पनि निरन्तरता दिइँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






