होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाको नयाँ सैन्य आक्रमण सुरु

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेसँगै अमेरिका–इरान तनाव थप चर्किएको छ । जलमार्ग बन्द गर्ने निर्णय सार्वजनिक भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार बन्दर अब्बास, सिरिक, चाबहार, बन्दर–ए देइर र असालुयेहलगायतका प्रमुख बन्दरगाह क्षेत्रमा श्रृंखलाबद्ध विस्फोट भएका छन् । सरकारी प्रसारण संस्था आईआरआईबीले बन्दर अब्बास र सिरिकमा तीन–तीन तथा चाबहारमा दुईवटा विस्फोट भएको जनाएको छ । त्यस्तै बुशेहर प्रान्तस्थित बन्दर–ए देइरमा पाँच र असालुयेहमा चारवटा विस्फोटको आवाज सुनिएको बताइएको छ ।

विस्फोटको कारण, क्षतिको अवस्था तथा सम्भावित मानवीय क्षतिबारे भने अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समार्फत इरानले गलत निर्णय गरेको उल्लेख गर्दै त्यसको परिणाम भोग्नुपर्ने अवस्था आएको बताएका छन् ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले गरेको आक्रमणको प्रत्युत्तरस्वरूप यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको हो ।

इरानले भने उक्त जहाजले स्वीकृत समुद्री मार्ग परिवर्तन गरी ट्र्याकिङ प्रणाली बन्द गरेपछि कारबाही गरिएको दाबी गरेको छ । चिनियाँ र इरानी सञ्चारमाध्यमहरूले पनि जहाजले निर्धारित समुद्री मार्ग उल्लंघन गरेको उल्लेख गरेका छन् ।

सेन्टकमका अनुसार मिसाइल आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ भने एक चालक दलका सदस्य अझै बेपत्ता छन् ।

यसअघि पनि ओमानको जलक्षेत्र हुँदै सञ्चालन भएका तीनवटा व्यापारिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो। इरानले भने आफ्नै जलक्षेत्र प्रयोग गर्न आग्रह गर्दै आएको छ ।

इरानी अधिकारीहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् । त्यसको जवाफस्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकका सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी कारबाहीलाई युद्धविरामको अन्त्यको संकेतका रूपमा व्याख्या गरेका छन् । उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका स्वयंले सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यद्यपि, दुवै पक्षले मध्यस्थकर्तामार्फत वार्ता जारी रहेको संकेत दिएका छन् ।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनेईले पदभार सम्हालेपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमै अमेरिका र इजरायलसँग बदला लिने चेतावनी दिएका छन् । उनले युद्धमा ज्यान गुमाएकाहरूको रगतको बदला अवश्य लिइने बताएका छन् ।

उता, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानबाट कुनै पनि प्रकारको आक्रमण भए त्यसको कडा सैन्य जवाफ दिइने चेतावनी दिएका छन् । अमेरिका र इरानबीच बढ्दो तनावले मध्यपूर्वको सुरक्षा अवस्था तथा अन्तर्राष्ट्रिय तेल आपूर्तिमाथि थप दबाब पर्ने चिन्ता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै