बैंककको बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

बैंकक । थाइल्याण्डको राजधानी बैंककस्थित एक मनोरञ्जनस्थलमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार आगलागीमा १८ महिला र ९ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । घटनामा घाइते भएका ६० भन्दा बढी व्यक्तिको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही व्यक्ति अझै सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रारम्भिक विवरणअनुसार आगो फैलिएपछि धेरै मानिस भवनको पछाडिको भागतर्फ भागेका थिए । केही व्यक्तिले शौचालयमा लुकेर ज्यान जोगाउने प्रयास गरे पनि धुवाँका कारण निसास्सिएर मृत्यु भएको बताइएको छ । अधिकांश शव शौचालय क्षेत्रबाट फेला परेको अधिकारीहरूले बताएका छन् ।

घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार विद्युत् प्रणालीसँग सम्बन्धित भागमा आगो सल्किएपछि केही क्षणमै आगोले ठूलो रूप लिएको थियो। त्यसपछि धुवाँ र आगोबाट बच्न मानिसहरू भागदौड गर्न थालेका थिए ।

अग्निनियन्त्रक टोलीले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिए पनि ठूलो मानवीय क्षति हुन पुगेको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा भवनबाट आगोको ठूलो लप्का निस्किएको र मानिसहरू ज्यान जोगाउन भागिरहेको देख्न सकिन्छ ।

बैंकक महानगरका अधिकारीहरूले भवनभित्र प्रयोग गरिएका ज्वलनशील सजावटी सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको हुन सक्ने बताएका छन् । घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै