इरानमाथि अमेरिकाको लगातार हवाई आक्रमण 

काठमाडौं । अमेरिकाले लगातार नवौँ रात पनि इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग भइरहेको इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले उक्त कारबाही गरिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेन्ट्रल कमान्डले आक्रमणको पुष्टि गरेको केही समयपछि इरानका दुई प्रमुख बन्दरगाहसहित पाँचवटा सहरमा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मारिएका अमेरिकी सैनिकहरूको सम्मानस्वरूप इरानविरुद्ध कडा सैन्य कारबाही जारी रहेको बताएका छन् ।

फिफा विश्वकप फाइनल हेरेर वासिङ्टन फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले, “आज राति पनि हामीले निकै ठूलो प्रहार गरेका छौँ। यो हाम्रा वीर सैनिकहरूको सम्मानमा गरिएको कारबाही हो,” भने ।

इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको हताहतीबारे सोधिएको प्रश्नमा ट्रम्पले दुःख व्यक्त गर्दै ज्यान गुमाएका सैनिकहरूले इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्ने उद्देश्यका साथ लडेको बताए ।

अमेरिका–इरानबीच बढ्दो सैन्य तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ । पछिल्ला हवाई आक्रमणले क्षेत्रीय तनाव अझ चर्किने चिन्ता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै