काठमाडौँ । संयुक्त राज्य अमेरिका र साउदी अरबबीच ऐतिहासिक परमाणु सहयोग सम्झौता भएको छ । सम्झौताले साउदी अरबलाई आफ्नै नागरिक परमाणु ऊर्जा कार्यक्रम विकास गर्ने बाटो खोलिदिएको छ ।
अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण परमाणु सहयोग सम्झौता’ हो । सम्झौताअन्तर्गत अमेरिकी कम्पनीहरूले साउदी अरबको परमाणु ऊर्जा कार्यक्रमसँग सम्बन्धित परियोजनामा महत्वपूर्ण पहुँच र काम गर्ने अवसर पाउनेछन् ।
सम्झौताको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । यद्यपि, अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार भविष्यमा सम्झौताअन्तर्गत साउदी अरबलाई युरेनियम संवर्द्धनको अनुमति दिन सकिने सम्भावना रहेको छ ।
संवर्द्धित युरेनियम परमाणु ऊर्जा केन्द्रमा इन्धनका रूपमा प्रयोग हुन्छ । तर, यही प्रविधि परमाणु हतियार निर्माणमा समेत प्रयोग गर्न सकिने भएकाले यसले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढाएको छ ।
विशेषज्ञहरूले साउदी अरबलाई युरेनियम संवर्द्धनको अनुमति दिइएमा यो अमेरिकाको इतिहासमै पहिलो यस्तो घटना हुने बताएका छन् । यसबाट पहिलेदेखि नै अस्थिर पश्चिम एसियामा परमाणु हतियारको प्रसारको जोखिम थप बढ्न सक्ने उनीहरूको चेतावनी छ ।
अमेरिकी ऊर्जा विभागले परमाणु सहयोग सम्झौतासँगै द्विपक्षीय सुरक्षा उपायसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको जनाएको छ । विभागका अनुसार यी सम्झौताले दशकौँसम्म सञ्चालन हुने अर्बौँ डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार गर्नेछ । यसबाट परमाणु अप्रसारसहित विभिन्न आर्थिक तथा रणनीतिक उद्देश्य अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साउदी सरकारले पनि सम्झौता दुई देशबीच ऊर्जा क्षेत्रमा यसअघि हुँदै आएको सहकार्यको विस्तार भएको जनाएको छ । गत नोभेम्बरमा साउदी नेताले वासिङ्टन भ्रमण गरेपछि सम्झौता भएको बताइएको छ ।
अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला यो सम्झौताको घोषणा भएको हो । अमेरिकाको लामो समयदेखिको सहयोगी साउदी अरबमा अमेरिकी सेनाका थुप्रै सैन्य आधार रहेका छन्, जसलाई इरानबाट आक्रमणको जोखिम रहेको बताइन्छ । इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेको दुई दिनपछि यो सम्झौताको घोषणा भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





