ट्रम्पद्वारा इरानविरुद्ध ‘अभूतपूर्व आर्थिक अभियान’ घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘अभूतपूर्व र निकै कडा आर्थिक अभियान’ सुरु गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानविरुद्ध कुनै पनि देशमाथि अहिलेसम्म लगाइएको ‘सबैभन्दा कडा आर्थिक कारबाही’ सुरु गर्न लागेको बताएका हुन् ।

उनले इरानलाई लक्षित गर्दै यो अभियान ठूलो स्तरको आर्थिक युद्ध र इरानलाई विश्व समुदायबाट अलग्याउने प्रयास हुने बताएका छन् । साथै, इरानको सैन्य तथा आर्थिक शक्ति कमजोर बनाउने आफ्नो यसअघिको अडान पनि दोहोर्‍याएका छन् ।

ट्रम्पले इरानलाई आर्थिक सहयोग वा कुनै प्रकारको ‘जीवनरेखा’ उपलब्ध गराउने देशले समेत ठूलो आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनका अनुसार वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई सहयोग गर्ने देशसमेत अमेरिकी कारबाहीको दायरामा पर्न सक्नेछन् ।

विशेषगरी तेल तस्करी, तेल ट्यांकरको अदलीबदली, नगदमार्फत रकम पठाउने, मनी एक्सचेन्ज कम्पनीको प्रयोग तथा जहाजलाई नक्कली कम्पनीका नाममा दर्ता गर्ने गतिविधिलाई ट्रम्पले कारबाहीको सम्भावित क्षेत्रका रूपमा उल्लेख गरेका छन् ।

आफ्नो वक्तव्यको अन्त्यमा ट्रम्पले प्रस्तावित अभियानको तुलना दोस्रो विश्वयुद्धका क्रममा नर्मन्डीमा अमेरिकी सैनिकको अवतरणसँग गरेका छन् । उनले इरानबाट उत्पन्न हुने खतरा अन्त्य गर्न अमेरिकी सहयोगी राष्ट्रहरूलाई साथ दिनसमेत अपिल गरेका छन् ।

ट्रम्पले यस सम्पूर्ण अभियानलाई ‘ऐतिहासिक कदम’ को संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै