काठमाडौं । बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । त्यहाँको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।
नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा बिजुली खरिद मूल्यबारे छलफल हुनेछ ।
३ महिनाअघि नै त्यहाँका विद्युत, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालबाट जलविद्युत आयात गर्ने लगभग अन्तिम चरणमा पुगेको बताएका थिए । राजनीतिक र कर्मचारीको तहमा लामो छलफलपछि भारतले आफ्नो प्रसारणलाइन प्रयोग गरेर बंगलादेशलाई नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न अनुमति दिन सहमति जनाइसकेको छ ।
बंगलादेशको पावर सेलका महानिर्देशक मोहम्मद हुसेनले भारतको भूभाग हुँदै नेपालबाट विद्युत आयात गर्न बहरामपुर–भेरमारा प्रसारण लाइन प्रयोग गरिने जानकारी दिएका छन् । योजनाअनुसार बंगलादेशले सेवा प्रदायकको रुपमा भारतीय नोडल एजेन्सी एनटीपीसी विद्युत व्यापार निगममार्फत नेपालबाट बिजुली आयात गर्ने छ ।
नेपालबाट बंगलादेशमा विद्युत बेच्न गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर हुनुपर्छ । एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल–भारतबीच विद्युत आयात–निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ ।
गत २ जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको थियो ।
साउन २०७७मा नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिइसकेको छ । वर्षायाममा बढी भएको बिजुली नेपालले भारत निर्यात गर्दै आएको छ ।
बंगलादेशमा पनि निर्यात गर्ने तयारी भएपनि लामो समय भारतले प्रसारण पूर्वाधार प्रयोग गर्न अनुमति नदिँदा अलमल भएको थियो । तर, पछिल्लो समयमा बंगलादेशको सरकारले पनि चुनावी कारण देखाएर निर्णयमा ढिलाइ गरिरहेको थियो ।
साउन २०७५ मा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो । त्यसयता बिजुली निर्यातको तयारीका लागि बंगलादेशका अधिकारीहरुको टोलीले पनि थुप्रै पटक नेपालको भ्रमण गरिसकेको छ । बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






