लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन । झरनाको फेद पुग्न मन लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ ।
झरनाले मनै लोभ्याउँदा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन् । डुम्रे बेँसीसहर सडक छेउमै तथा मस्र्याङ्दी नदी नजिकै यो झरना छ । बेँसीसहर नगरपालिका १ दलालस्थित गाईखुरे झरना अगाडि एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक यतिबेला दुई सय भन्दा बढी पर्यटक आउने गरेका छन् ।
त्यस्तै, शुक्रबार, शनिबार र बिदाको समयमा यहाँ दोब्बर पर्यटक झरनामा आउने गर्दछन । स्थानीय सुदिप पन्तका अनुसार यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेका छन् । मनोरञ्जनको क्षेत्र कम भएको यस जिल्लामा यस झरनामा मनोरञ्जनको माध्यम यस झरना बनिरहेको छ । साथीहरुबीच एकापसमा पानी छ्यापा छ्याप्प गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्दै मज्जा लिने समेत पर्यटकले गर्दछन् ।
बर्सेनी झै यस वर्षपनि झरनामा आउनु भएका बेँसीसहर नगरपालिका ८ का एन्जिल गुरुङले झरनाको शीतलतासँगै तस्बिर खिच्दा रमाइलो हुने गरेको बताउछन । उनले भने , “यहाँ आउँदा बेग्लै आनन्द मिल्छ ।” यस्तै, अर्का पर्यटक अरुण बरालले साथीहरुसँग झरनामा आएको र झरनासँग फोटो खिच्ने, पौडी खेल्ने, साथीभाइसँग रमाइलो गरेर झरनाको मज्जा लिएको बताउछन । झरना व्यवस्थित भने हुनसकेको छैन । स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए ।
सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभइ साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ । यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले यतिबेला पर्यटकको भीडभाड लागिरहेको बताएका छन । पर्यटकहरुको भीड लागेपनि यस झरनालाई व्यवस्थित बनाउन नसक्दा दुःख लागिरहेको उनको भनाइ छ । उनले झरनालाई थप व्यवस्थित गर्दै पूर्वाधारको संरचना थप्दै पर्यटक आकर्षित गर्नका लागि पालिकाले योजना बनाएको छ । झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको नगरपालिकाले जनाएको छ । स्रोत: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






