धुलिखेल। यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय गङ्गाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन् ।
यहाँ आउने पर्यटकहरुले पोखरी छेवैमा रहेको देवीथानको दर्शन गर्ने गरेका छन् । सो ठाउँमा पुगेर स्नान गरी देवीको दर्शन गर्दा मनोकाङक्षा पूरा हुने जनविश्वास छ । रोशी गाउँपालिका–३ का स्थानीय सुरज लामाका अनुसार गुरु रेन्पोछेले पाइला टेकेको पवित्र ठाउँ भएकाले महाभारत लेकको टुप्पोमा रहेको पोखरीमा जस्तोसुकै खडेरीमा पनि पानी सुक्दैन । यहाँ जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन धामी झाँक्रीहरु सो कुण्डमा पुगेर दर्शन गरेपछि शक्ति आर्जन गर्ने बताउँछन् ।
परापूर्वकालमा ताराको टुक्रा खसेर जमिन भासिएर परेको खाल्डोमा पोखरी जमेपछि कुण्ड बनेको बताइन्छ । सो पोखरी सङ्लो रहने र कहिल्यै नसुक्ने स्थानीय बताउँछन् । गाउँपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा ताराखसे पोखरी रहेकोे रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजित लामाले बताए ।
गुरु रेन्पोछे खोटाङको हलेसीबाट यात्रा गर्दै तेमालस्थित यारीनाग गुफा, महाभारत लेकको हात्ती आहाल, ताराखसे पोखरीमा पुगेर ध्यान गरेको किंवदन्ती छ । धार्मिक र पर्यटकीय दृष्टिले मनमोहक यस ठाउँको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण सुरु गरिएको वडाध्यक्ष लामाले जानकारी दिए । हाल पोखरी भएको स्थानमा जान सडक, वनभोज स्थल र शौचालय लगायतका संरचना बनिसकेका छन् ।
रोशी गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाईबाले दूई हजार पाँच सय ५० मिटरको उचाइमा अवस्थित ताराखसे लेकको विकास र पर्यटन प्रवर्द्धन गर्न पालिकाले योजनाबद्धरुपमा काम गरिरहेको बताए । महाभारत क्षेत्र घुम्ने पदमार्ग निर्माण भइरहेको उनको भनाइ छ । हाल फूलचोकीदेखि ताराखसे पोखरीसम्म सिँढी निर्माण भइसकेको र त्यहाँबाट भूमेचुली जुकेपानी हुँदै सिन्धुलीको घ्याङलेकसम्मको विस्तृत गुरुयोजना तयार पारिएको उनले बताए ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ताराखसे पोखरीबारे प्रचार गर्न आग्रह गरे। उनले पोखरी व्यवस्थापन र आवश्यक संरचना निर्माण भइरहेको जानकारी दिए । सङ्घीय सरकारको विशेष अनुदानतर्फ आर्थिक वर्ष २०८० र ०८१ मा एक करोड बजेटबाट सिँढी, रेलिङ, शौचालय, धारा, खानेपानी ट्याङ्की, आवासस्थल र सवारी पार्किङस्थल निर्माण गरिएको छ ।
यहाँबाट वरिपरीको हरियाली डाँडाकाँडासँगै सुन्दर हिमालका दृश्य अवलोकन गर्न सकिन्छ । ताराखसे पुग्न बनेपाबाट नमोबुद्ध–दाप्चा–गहते–फलामे साँघु–शिखर आम्बोट–साँझकोट–निङ्गालेहुँदै जानुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




