काठमाडौँ । मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समापन भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट यही चैत ९ गते शनिबार चैत्र कृष्ण अष्टमीदेखि सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि सोमबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले राससलाई जानकारी दिए।
चैत्र कृष्ण अष्टमीका दिन चैत ९ गते शनिबार पशुपतिका भट्टले जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरेका थिए । यात्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको डङ्गोलले बताए । उनका अनुसार उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा सुरु भएको हो ।
जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन सोमबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको छ । एघार दिनसम्म सञ्चालन भएको यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक मानिन्छ ।
मुलुकमा शान्ति कायम होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्ष रूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्ष रूपमा सहभागी हुने गरेको डङ्गोलले सुनाए ।
वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिएको थियो । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन सोमबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ ।
बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् आइतबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्परा अनुसार सोमबार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिएको थियो । त्यहाँबाट आज पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा समापन गरिएको कोषको अमालकोट कचहरीका द्वारे डङ्गोलले जानकारी दिए ।
प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । दूध खाने बालकसमेत जात्रा हेर्न आउने भएकाले यसलाई दुदु च्याँ च्याँ भन्ने नामलेसमेत चिनिन्छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






