फणिन्द्र अधिकारी
प्रचारप्रसार संयोजक, कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालय
नेपाल भारत र चीनजस्ता विशाल जनसङ्ख्या भएका मुलुकको बीचमा छ । धार्मिक सांस्कृतिकरूपले धेरै जनसङ्ख्या भएका मुलुकसँग मिल्दाजुल्दा विशेषता छन् । रामायण, महाभारतलगायत विभिन्न पुराणहरूमा वर्णित तीर्थहरू जस्तैः बराहक्षेत्र, रामधुनी, अर्जुनधारा, किचकबध, विराटपोखरी, कृष्णथुम्की नेपाल र भारतको समान सांस्कृतिक विशेषता बोक्ने गन्तव्य कोशी प्रदेशमा रहेका छन् । तिनलाई प्रचारप्रसारका माध्यमबाट अगाडि ल्याउन सके ठूलो सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सकिन्छ । यसै विषयमा मुकामको कोशी प्रदेश पर्यटन वर्ष २०८२ विशेषाङ्कमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ का प्रचारप्रसार संयोजक फणिन्द्र अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले के–कस्ता पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेको छ ?
हाम्रो प्रदेशमा पहिलेदेखि नै स्थापित भएका गन्तव्यहरू छन् । तिनको छुट्टै पहिचान छ, छुट्टै मौलिकता छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले ती गन्तव्यलाई प्रवर्धन गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । साथसाथै ती गन्तव्यमा पर्यटक आउँदा हुने समस्या तिनको पहिचान गर्ने, नीतिगत समस्याको समाधान गर्ने जस्ता विषयमा सुधार गर्ने भन्ने कुरा पर्यटन वर्षको प्राथमिकतामा छन् ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले कस्ता पर्यटकलक्षित कार्यक्रम अगाडि सारेको छ ?
पहिलो कुरा त कोशी प्रदेश पर्यटनका सबै चिजको सम्मिश्रित सम्भावना भएको ठाउँ हो । धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन तथा रैथाने खानपानजस्ता कुराहरूमा हामी अत्यन्तै अब्बल छौँ । साहसिक पर्यटन र जैविक विविधतामा पनि हामी अब्बल छौँ । हामीले यी सबै किसिमको पर्यटनमा रूचि राख्ने पर्यटकलाई ध्यानमा राखेर हाम्रा कार्यक्रम अगाडि सारेका छौँ ।
भारत र चीनजस्ता संसारकै सबभन्दा बढी जनसङ्ख्या भएका देशसँग नेपालले सिमाना मात्रै जोडिएको छैन- धर्म (हिन्दू र बौद्ध धर्म) समेत जोडिएका छन् । यस अर्थमा भारत र चीनका धार्मिक सांस्कृतिक पर्यटक भित्र्याउन पर्यटन वर्षले कस्ता रणनीति तय गरेको छ ?
निश्चय नै नेपाल भारत र चीनजस्ता विशाल जनसङ्ख्या भएका मुलुकले वेष्ठित छ । झन् धार्मिक सांस्कृतिकरूपले समेत हामी ती धेरै जनसङ्ख्या भएका मुलुकसँग मिल्दाजुल्दा विशेषताले सम्पन्न छौँ । रामायण, महाभारतलगायत विभिन्न पुराणहरूमा वर्णित स्थान र पात्र भारत र नेपालका साझा सम्पत्ति हुन् । जसमध्ये यस्ता धेरै पौराणिक आख्यानमा भएका तीर्थहरू जस्तैः बराहक्षेत्र, रामधुनी, अर्जुनधारा, किचकबध, विराटपोखरी, कृष्णथुम्की नेपाल र भारतको समान सांस्कृतिक विशेषता बोक्ने गन्तव्यहरू हाम्रै कोशी प्रदेशमा रहेका छन् । तिनलाई प्रचारप्रसारका माध्यमबाट अगाडि ल्याउन सके ठूलो सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सकिन्छ । त्यसै अनुरूप काम पनि गरिरहेका छौँ । तर, तपाईंले भनेजस्तो भौगोलिक विकटता र भाषिक जटिलताले गर्दा चिनियाँ पर्यटक ल्याउन चाहिँ पक्कै सहज छैन ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा कति आन्तरिक र कति बाह्य पर्यटक आउने आँकलन गर्नुभएको छ ?
कोशी प्रदेश पर्यटन वर्ष २०८२ नीतिगत सुधारको वर्ष हो । यस वर्ष हामी के कस्ता कुराका नीतिगत सुधार गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछौँ । पूर्वाधारका निर्माणमा जोड दिनेछौँ । पर्यटकको गन्तव्य रोजाइको पहिचान गर्नेछौँ र पर्यटकको बसाइ लम्ब्याउने कुरामा महत्व दिनेछौँ । हामीले भ्रमण वर्ष नभनेर पर्यटन वर्ष भनेका छौँ, त्यसकारण हामी यो वर्ष तथ्याङ्कमा पर्यटकको सङ्ख्या गन्ने र बढाउने भन्दा पनि नीतिगत सुधार गर्ने र प्रचारप्रसारका माध्यमबाट बढीभन्दा बढी पर्यटकीय गन्तव्यलाई देशविदेशमा चिनाउने अभियानमा केन्द्रित रहनेछौँ । भन्नलाई त पन्ध्र लाख, दश लाख पर्यटक भित्र्याउने भनौँला, ल्याउन पनि ल्याउँला । पर्यटक भित्र्याएर मात्रै केही हुँदैन( केही दिन अडिने वातावरण नबनाउञ्जेल यसले प्रदेशको आर्थिक उन्नतिमा टेवा पुर्याउन सक्दैन । फेरि यस वर्ष सुरू भएको पर्यटन वर्षको यसै वर्ष तिथी सकिनेबित्तिकै पर्यटकको आवागमान ठ्याक्कै रोकिइहाल्ने होइन । त्यसकारण समग्रमा हामीले नीतिगत सुधार र पूर्वाधार निर्माणद्वारा कोशी प्रदेश चिनाउने वर्षको रूपमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को घोषणा गरेका हौँ भन्नु उपयुक्त होला ।

तपाईं कोशी प्रदेश पर्यटन वर्ष २०८२ को प्रचार संयोजक हुनुहुन्छ । प्रिन्ट, अडियो, भिडियो र डिजिटल प्रचारसामग्रीलाई कुन रूपमा तयार गर्दै हुनुहुन्छ ?
हामीले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को घोषणा र उद्घाटन कार्यक्रम सम्पन्न गरिसकेका छौँ । राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा परिचत गराउन विभिन्न मार्टहरूको आयोजना गरिसकेका छौँ । बोटिङ, प्याराग्लाइडिङ, साइक्लिङजस्ता साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि सम्पन्न गरिसकेका छौँ । आगामी कार्यक्रमको रूपमा अन्तरप्रदेशीय कार्यक्रमलाई समेत अगाडि सारेका छौँ– अन्य प्रदेशका पर्यटकलाई हाम्रो प्रदेशको भ्रमण गर्न आग्रह गरेका छौँ । उहाँहरूका अनुभव र सिकाइबाट केही सिकिरहेका छौँ ।
हामीले कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा विभिन्न शैलीका प्रचार सामग्री तयार गरेर काम गरिरहेका छौँ । सामाजिक सञ्जाल फेसबुकजस्ता सोसल मिडिया, युट्युवजस्ता अल्टरनेटिभ मिडिया कसरी परिचालन गर्ने भन्ने बारेमा काम गरिरहेका छौँ । संसारका १४ सर्वोच्च शिखरमध्ये पाँचवटा ८ हजार मिटरभन्दा अग्ला ५ हिमालको बारेमा डकुमेन्ट्री बनाइसकेका छौँ– अन्य बनाउने क्रममा छौँ । त्यसै गरी विभिन्न गन्तव्यहरू समेटेर बुकलेट, ब्रुसर बनाउन काम थालिसकेका छौँ । रेडियो, टेलिभिजन जस्ता विद्युतीय सञ्चार माध्यमबाट समेत प्रचारप्रसार गरिरहेका छौँ । विभिन्न चर्चित व्यक्तित्व र मिडिया इन्फ्लुअन्सर मार्फत पनि प्रचारप्रसार गरिरहेका छौँ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ नीतिगत वर्ष भएकाले यस वर्ष हामी सकेसम्म पूर्व तयारी कस्तो हुनुपर्छ भन्ने हिसाबले तयारी गरिरहेका छौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






