
वराहक्षेत्र कोशी प्रदेशको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थस्थल हो । कोकाहा र कोशी नदी सङ्गममा पर्ने यो स्थान बराहक्षेत्र नगरपालिका वडा नं.१ मा रहेको छ । ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारतमा समेत उल्लेख गरिएको तथा महिमा गाइएको वराहक्षेत्र नेपालको सबैभन्दा पुरानोमध्येको एक देवस्थलरतीर्थस्थल हो । बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआज हुने गर्दछ ।
वराहक्षेत्रधामको प्राचीनता र दिव्य महिमा
वराहक्षेत्रधाम ब्रह्माण्डीय इतिहाससँग सम्बन्धित एक अत्यन्त प्राचीन र पावन तीर्थस्थल हो । यो धाम श्वेतवराह कल्प अन्तर्गतको महान घटनासँग सम्बन्धित छ, जुन वर्तमान ब्रह्माको दोस्रो परार्धको पहिलो कल्प हो । सृष्टिको प्रारम्भमा, जब पृथ्वी जलमग्न भएर रसातलमा डुबेकी थिइन्, त्यस बेला ब्रह्माजीको नासापुटबाट उत्पन्न भई परब्रह्म परमात्मा वराह रूप धारण गरेर पृथ्वीलाई रसातलबाट उद्धार गर्नुभयो । यही कारण यस कल्पलाई ‘वराहकल्प’ भनिन्छ ।
भगवान् वराहले जहाँ पृथ्वीलाई स्थापन गर्नुभयो, जहाँ उहाँ वास गर्नुभयो, त्यो स्थल नै आजको वराहक्षेत्रधाम हो । यो स्थल केवल एक तीर्थ मात्र नभई सम्पूर्ण सृष्टिको मूल आधारको स्मृति हो । यसकारण, वराहक्षेत्रलाई सम्पूर्ण तीर्थहरूमध्ये आद्यधाम, सर्वाधिक पावन र परम तीर्थको रुपमा मानिन्छ ।
वराहक्षेत्रको दर्शन बिना कुनै पनि तीर्थयात्रा पूर्ण मानिँदैन। यहाँ जात, पात, वर्ण, लिङ्ग, धर्म आदि कुनै भेदभाव छैन – सबैका लागि खुला, सर्वसमावेशी र परब्रह्मको प्रत्यक्ष प्रतीक स्वरूप यो धाम चिनिन्छ ।
सांस्कृतिक प्रमाणहरू अनुसार वराहक्षेत्रको प्राचीनता
सृष्टिको प्रारम्भमा जलको सृष्टि गरिएपछि त्यसमै नारायणरूपी परमात्माले शयन गर्नुभयो, जसबाट “नारायण” नामको उद्गम भयो । त्यसपछि उहाँको नाभिकमलबाट ब्रह्माजीको जन्म भयो र सृष्टिको प्रारम्भ भयो । पृथ्वी रसातलमा गएकाले स्वायम्भुव मनु र शतरूपा असहाय भए । ब्रह्माजीले स्तुति गर्दा भगवानले वराह रूप लिएर पृथ्वीको उद्धार गरे ।
वास्तवमा पृथ्वी तत्वमा गन्धगुण छ, जसलाई पत्ता लगाउन घ्राणशक्ति भएको प्राणी वराह मात्र सम्भव थिए । यही कारणले भगवानले वराह रूप धारण गर्नुभयो। यस्तो दिव्य कार्य भएको स्थल नै वराहक्षेत्र हो ।
कालगणनाअनुसार, श्वेतवराह कल्प सुरु भएर हालसम्म करिब १,९५,५८,८५,१२५ वर्ष बितिसकेको अथर्ववेद र सङ्कल्पसूत्रको आधारमा प्रमाणित हुन्छ ।"शतं तेऽयुतं हायानान् द्वेय युगे त्रीणि चत्वारी क्रृण्मः" (अथर्ववेद- ०८/०२/२१/०१) यस आधारमा वराहक्षेत्रधामको अकल्पनीय प्राचीनता प्रमाणित हुन्छ ।
बराह अवतार र हिरण्याक्षको कथा
हिन्दू धर्मअनुसार भगवान विष्णुले बराह ‘बँदेल’ को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने ‘हिरण्याक्ष’ नाम गरेको राक्षसको बध गरेका थिए । उनले जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पृथ्वीको उद्दार गरेका थिए ।
पौराणिक कालमा कश्यप ऋषिकी पत्नी दितीको गर्भ रहेको ३ वर्षसम्म पनि बच्चा जन्मिएन । यो देखेर सबै देवताहरू र ऋषी कश्यप ब्रम्हासँग सोध्न गए । ब्रह्माले सबै कुरा सुने आफ्नो योग दृष्टि लगाए । त्यसपछि ब्रह्माले सबैलाई गर्भबाट २ जना बालकहरू जन्मिने तर अनिष्टकर बालकको जन्म हुने बताए । यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए ।
केही दिनपछि दितीको गर्भबाट हिरण्याक्ष तथा हिरण्यकश्यपु नामका दुईजना बालकहरूको जन्म भयो । बालकै छँदा यी दुवैले स्वर्ग मत्र्य तिनै लोकमा उप्रद्रो मचाउन थाले ।
हिरण्याक्ष ठूलो भएपछि महाबली असुर भयो । ब्रह्माको कठोर तपश्या गरेकाले ब्रह्माले हिरण्याक्षलाई इच्छाअनुसारको बरदान माग्ने अनुमती दिए । ब्रह्माको आज्ञा पाएर हिरण्याक्षले सधैँ अमर रहन पाउने बरदान माग्यो । ब्रह्माले जन्मिएपछि मर्नुपर्छ अमरताको बरदान दिन सकिँदैन, योबाहेक केही अरु बरदान माग्ने कुरा राखे । हिरण्याक्ष आफू अमरताबाहेक अरु केही बर नमाग्ने ढिट गर्न थाल्यो ।
हिरण्याक्षले गरेको तपश्यालाई ध्यानमा राखेर ब्रह्माले जनावरबाहेक मनुष्य, देवता, यक्ष, किन्नर, आदी कसैको हातबाट मृत्यु नहुने बरदान दिए । हिरण्याक्षले जनावर सामान्य नै हो भन्ने सोच गरेर ब्रह्माको बरदान स्विकार गऱ्यो । उसले जनावर जो आमाको कोखबाट पैदा नभएको जनावरले मात्र मार्न पाउने बचन राखेरै छोड्यो ।
ब्रह्माको बरदान पाएर हिरण्याक्षले जताततै उत्पात मचाउन थाल्यो । यसरी उत्पात मचाउँदै जाँदा पृथ्वी नै जलमा डुबाइ दियो । उसले आफू सधैँ जिवित रहने छु भन्ने मनसायले एक दिन पृथ्वीलाई लात्तीले हानेर पाताल पुर्याइदियो । तब सारा चराचर जगत नै जलमग्न भयो । यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान बिष्णुको आराधना गरे । त्यसैबेला ब्रह्माजीको नाकबाट भगवान विष्णु बँदेलरूप लिएर अवतरित भए । उनले हिरण्य असुर मारेर भूमिलाई आफ्नो दाँतले उठाएर पूर्ववत बनाए । यसरी बराह भगवानले श्राद्ध पद्धति चलाएको कुरा हिन्दू धर्मग्रन्थमा लेखिएको छ ।
प्राचीन हरिद्वार(चतरा धामको आध्यात्मिक पहिचान
वराहक्षेत्रसँगै अवस्थित चतरा धामलाई “प्राचीन हरिद्वार” भनेर मानिन्छ । “चतराधाम” शब्द चौताराको अपभ्रंश मानिन्छ, जहाँ भगवान वराहनारायणले केही समय वास गर्नुभयो । यही चौताराबाट भगवान् वराहले कोका(कौशिकी सङ्गमको दिशामा प्रस्थान गर्नुभयो । यही घटनाले गर्दा यो भूमि "चतरा" नामले प्रख्यात भएको हो ।
यस प्राचीन हरिद्वार क्षेत्रको अनेकौं आध्यात्मिक विशेषताहरू छन्ः
यहाँ त्रिपाद विभूति गायत्री देवी यशोधरामा अवतीर्ण भएकी थिइन् । यही भूमि भगवान श्रीरामको तारकब्रह्म साक्षात्कार भएको स्थल हो । बलरामजीको ब्रह्महत्या पाप मोचन पनि यही स्थानमा भएको मानिन्छ । देवताहरूलाई यहीँ अमृत पान गराइएको थियो । श्रीरामजीले स्वयम् आफ्ना पवित्र चरण स्पर्श गरेका, श्रीकृष्णले विचरण गरेको, तथा अनेकौँ ऋषि-महर्षिहरूले तपस्या आरम्भ गरेको यो भूमि मोक्षदायिनी छ । यहाँको चतरा अन्त्येष्टि स्थलको रूपमा प्रसिद्ध छ । मान्यता अनुसार, यहाँ अन्त्येष्टि गर्दा प्राणीलाई मोक्ष प्राप्त हुन्छ । त्यसैले यो स्थान “मोक्षघाट” को रूपमा पनि सम्मानित छ ।
श्रीराम तारकब्रह्म पीठ( एक आध्यात्मिक युगको उद्घोष
परात्पर परब्रह्मको प्रत्यक्ष प्रतीकको रूपमा श्रीराम को प्रतिष्ठा वैदिक(पौरस्त्य परम्परामा विशेष छ । राम र कृष्णलाई पूर्णावतार मानिन्छ, तर समस्त अवतारहरूको अवतारी पुरुष भने श्रीराम नै हुन् ।
“रमन्ते योगिनो यस्मिन् नित्यानन्दे चिदात्मनि, इति राम पदेनासौ परं ब्रह्माभिधीयते”- योगवासिष्ठ
श्रीराम नाम स्वयं परब्रह्मको संकेत हो। त्यसैले “श्रीराम तारकब्रह्म महायज्ञ” अत्यन्त फलदायी मानिन्छ ।
२०७५ सालमा चतरा धाममा आयोजित श्रीराम तारकब्रह्म महायज्ञ ऐतिहासिक बन्यो, जहाँ १६० करोड आहुतिसहित एक अर्ब साठी करोड श्रीराम नामको जप सम्पन्न गरिएको थियो । यस यज्ञमा भारत र नेपालका सम्पूर्ण सम्प्रदायका सन्त-महापुरुषहरू एकमत भएर चतराधामलाई “विश्वकै एकमात्र श्रीराम तारकब्रह्म पीठ” को रूपमा प्रतिष्ठा गर्नुभयो ।
यस पीठको शिलान्यास २०८१ वैशाख ५ गते, श्रीरामनवमी तथा श्रीहनुमान जयन्तीको शुभ अवसरमा नेपालका प्रधानमन्त्री, मन्त्री, विशिष्ट व्यक्तित्वहरु र भारत, बागेश्वरधामका पीठाधीश श्री धीरेन्द्रकृष्ण शास्त्रीजी महाराजका करकमलबाट सम्पन्न भएको हो ।
श्रीराम तारकब्रह्म पीठका विशेष अवयवहरू
- श्रीयन्त्र रूपी नौतल्ले मन्दिर संरचना
- गर्भगृहमा प्राणप्रतिष्ठित श्रीरामको विग्रह
- ३३ कोटि देवताका मूर्तिहरू सहितको दिव्य दर्शन
- सांस्कृतिक झलक सहितको तीर्थदर्शन यात्रा मार्ग
- सृष्टिदेखि प्रलयसम्मको वैज्ञानिक–आध्यात्मिक दृश्यावली
- हनुमानको विशाल मन्दिर – जहाँ विगत १२ वर्षदेखि अखण्ड कीर्तन भइरहेका छन्
- २०० कोठाको धर्मशाला, महायोग साधना हल, आयुर्वेद उपचार केन्द्र, गौशाला, अन्नक्षेत्र आदि
- हिमालयन सिद्ध महायोग र वेदान्त दर्शनको आवासीय शिक्षाक्रम
किन यही चतरा–वराहक्षेत्रमा पीठ स्थापनाः
ऋषि विश्वामित्रले यही कौशिकी तटमा तपस्या गरी तारकब्रह्म मन्त्र प्राप्त गर्नुभएको हो। यहीँबाट यो परम्परा सुरु भयो । अतः पुनः यही भूमि युग–जागरणको केन्द्र हुनुपर्छ भन्ने उद्देश्यले यो पीठको स्थापना गरिएको हो ।
वराहक्षेत्र–चतरा क्षेत्रका अन्य प्रमुख धार्मिक स्थल
औलिया बाबा मठ, छिन्नमस्ता भगवती पीठ, शङ्कराचार्य मठ, अद्वैत आश्रम, गीता मन्दिर, जसमनी सन्त आश्रम, बौद्ध गुम्बा, राधाकृष्ण प्रतिष्ठान, श्रीराम शान्ति कुञ्ज महिला सेवा आश्रम, भूवराह आश्रम, कौशिकी स्नानघाट र चतरा मोक्षघाट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय; काठमाडौं शाखा
- जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
- एनआईसी एशिया बैंकका ग्राहक महानुभावलाई उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध
- केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्बन्धमा
- थःने या (माथिल्लो टोलको जात्रा)
- सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य
- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
- दसैंमा नाचिने सख्या नाच थारू बस्तिमा सुरू