काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्य घटेपछि निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाउने निर्णय गरेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ ।
उपभोक्तालाई थप राहत दिने गरी खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ । अब १४.२ केजीको एक सिलिन्डर ग्यास किन्न २ हजार ६० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यही सिलिन्डरको मूल्य २ हजार १६० रुपैयाँ थियो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ खरिद मूल्य सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यास सबैको खरिद लागत घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको निगमले जनाएको छ । नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासमा पनि उल्लेख्य मूल्य घटेर आएको छ ।
मूल्य समायोजनसँगै आन्तरिक हवाई इन्धनको नयाँ बिक्री मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा बिक्री हुने हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १ हजार ५६६ अमेरिकी डलर निर्धारण गरिएको निगमले जनाएको छ ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने नाफा–नोक्सान बराबर हुने ‘ब्रेकइभन’ आधारमा मूल्य तोकिएको छ । त्यसअनुसार पोखरामा प्रतिकिलोलिटर १ हजार १०० अमेरिकी डलर र भैरहवामा १ हजार ८५ अमेरिकी डलर कायम गरिएको छ ।
निगमका अनुसार पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि विभिन्न कारणले स्वचालित मूल्य प्रणालीअनुसार तत्काल मूल्य समायोजन गर्न सम्भव भएको थिएन । पछिल्लो पटक खरिद मूल्य उल्लेख्य रूपमा घटेर आएपछि त्यसको लाभ उपभोक्तासम्म पुर्याउन नयाँ मूल्य लागू गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य लागू भएसँगै सर्वसाधारणदेखि सार्वजनिक यातायात, उद्योग तथा व्यवसायिक क्षेत्रसम्मलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न
- सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
- सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना सुरु
- ट्राफिक प्रहरीको साथमा याङ्गो राइडको सडक सुरक्षा कार्यक्रम
- पत्रकार खेम भण्डारी पक्राउ, यस्तो छ कारण
- खामेनेईको हत्याको बदला लिने इरानको घोषणा, ‘रगतको हिसाब अवश्य चुकाइन्छ’
- १० खेलाडीमा सीमित अमेरिकाको शानदार जित, बोस्निया पराजित गर्दै अन्तिम १६ मा प्रवेश
- सन नेपाल लाइफ वार्षिक प्रतिवेदनको उत्कृष्टतामा प्रशंसापत्र पाउन सफल

ट्रेन्डिङ
खबरमुकाम






