काठमाडौं । इजिप्टले फिफा विश्वकपमा नयाँ इतिहास रच्दै पहिलोपटक अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । टेक्सासमा शनिबार राति सम्पन्न अन्तिम–३२ को रोमाञ्चक खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले ऐतिहासिक सफलता हात पारेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि विजेताको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । इजिप्टका लागि निर्णायक पेनाल्टी होसाम अब्देलमागुइदले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई अन्तिम १६ को यात्रा तय गराए ।
अब इजिप्टले अन्तिम १६ मा अर्जेन्टिना र केप भर्डेबीच हुने खेलको विजेतासँग मंगलबार एटलान्टामा प्रतिस्पर्धा गर्नेछ ।
इजिप्टले खेलको १३औँ मिनेटमै अग्रता लिएको थियो । करिम हाफेजको उत्कृष्ट क्रसमा इमाम आशौरले आकर्षक हेडमार्फत गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए। प्रतियोगितामा आशौरको यो दोस्रो गोल हो ।
तर दोस्रो हाफमा अष्ट्रेलियाले खेलमा पुनरागमन गर्यो । ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीले दबाबका बीच आफ्नै पोस्टमा हेडमार्फत बल छिराएपछि खेल १–१ को बराबरीमा पुग्यो। प्रतियोगितामा उनको यो दोस्रो आत्मघाती गोल बनेको छ ।
त्यसपछि दुवै टोलीले जित निकाल्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । चोटबाट फर्किएका कप्तान मोहम्मद सलाहले अतिरिक्त समयमा पाएको राम्रो अवसर गुमाए भने अष्ट्रेलियाका गोलरक्षक प्याट्रिक बिचले रामीको शक्तिशाली प्रहार उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखे ।
खेलको सुरुआतमै अष्ट्रेलियाका क्रिस्टियन भोल्पाटोको प्रहार क्रसबारमा लागेको थियो । दोस्रो हाफको सुरुमै इजिप्टका ओमार मार्मुशले नजिकबाट पाएको उत्कृष्ट अवसर पनि गोलमा परिणत गर्न सकेनन् ।
पेनाल्टी सुटआउटका लागि अष्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले अन्तिम समयमा अनुभवी गोलरक्षक म्याथ्यु रायनलाई मैदानमा उतारे पनि त्यो रणनीति सफल भएन ।
सुटआउटमा अष्ट्रेलियाका पहिलो प्रहारकर्ता ह्यारी साउटरले बल बारमाथि प्रहार गरेपछि टोली दबाबमा परेको थियो । त्यसपछि दुवै टोलीका खेलाडीले लगातार पेनाल्टीलाई गोलमा परिणत गरे, जसमा मोहम्मद सलाहले पनि आफ्नो प्रहार सहजै सफल बनाए ।
तर १८ वर्षीय अष्ट्रेलियाली डिफेन्डर लुकास हेरिङ्टनको पेनाल्टी क्रसबारमा लागेर बाहिरिएपछि इजिप्ट जितको संघारमा पुगेको थियो । अन्तिम प्रहारमा होसाम अब्देलमागुइदले कुनै गल्ती नगर्दा इजिप्ट ४–२ ले विजयी बन्यो ।
ऐतिहासिक जितपछि कप्तान सलाह भावुक बनेर मैदानमै आँसु झारे भने अष्ट्रेलियाली खेलाडी निराश मुद्रामा देखिए ।
यसअघि समूह चरणमा न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप इतिहासमा पहिलो जित निकालेको इजिप्टले अब पहिलोपटक नकआउट चरण पार गर्दै अर्को ऐतिहासिक उपलब्धि पनि आफ्नो नाममा लेखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारका १०० दिन पूर्ण रुपमा असफल भएः प्रचण्ड
- तेहरानमा खामेनीको अन्त्येष्टिमा जनसागर, करोडौँ सहभागी हुने इरानको दाबी
- बागमतीको बजेट पारित गराउन कांग्रेसको ह्विप
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात
- सरकारलाई सीमामा काँडेतार लगाउन चुनौती दिँदै ‘नवल खड्का’ पुस्तक तिङ्करको १ नम्बर सीमा स्तम्भमै विमोचन
- अर्जेन्टिनाको कठिन जित, केप भर्डेलाई ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश
- अष्ट्रेलियालाई पेनाल्टीमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा
- आज पनि देशका यी स्थानमा पर्नेछ पानी

ट्रेन्डिङ
खबरमुकाम






