गणेश नेपाली आत्मदाह प्रकरणः सरकार–परिवारबीच वार्ता मिलेन

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनपछि उनका परिवार र सरकारबीच निरन्तर वार्ता जारी रहेको छ । तर, घटनाको जिम्मेवारी राज्यले स्वीकार नगरेसम्म शव नबुझ्ने अडान परिवारले कायम राखेको छ ।

परिवारले मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएपछि घटनाक्रमले दुःखद रूप लिएको दाबी गर्दै दोषीमाथि कारबाही, निष्पक्ष छानबिन र सरकारको स्पष्ट प्रतिबद्धता माग गरेको छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरकारी प्रतिनिधि र परिवारबीच शनिबार रातिसम्म वार्ता भए पनि अन्तिम सहमति हुन सकेन । सहमति नजुटेकाले शव बुझाउने प्रक्रिया रोकिएको छ भने पोस्टमार्टमसमेत हुन सकेको छैन ।

वीर अस्पतालमा शव लामो समय राख्न आवश्यक पूर्वाधार नभएकाले गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जस्थित शवगृहमा सारिएको छ ।

घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ । समितिले नगर प्रहरीको भूमिका, ह्विल लक लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाक्रमबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मुगुको सोरु गाउँपालिका–६ स्थायी घर भएका गणेश नेपाली भक्तपुरको कमलविनायक क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै