आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती, देश–विदेशमा विविध कार्यक्रम हुँदै

काठमाडौँ । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपालसहित विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै विशेष समारोह आयोजना गरिएको छ । विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले पनि भानुभक्तको योगदानको स्मरण गर्दै विशेष कार्यक्रम सञ्चालन गरेका छन् ।

वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरेर आम नेपालीसम्म पुर्‍याएका थिए । उनको यस योगदानले नेपाली भाषा र साहित्यको विकासमा ऐतिहासिक भूमिका खेलेको मानिन्छ । आज पनि धेरै नेपाली परिवारमा उनीद्वारा अनुवाद गरिएको रामायण सस्वर पाठ गर्ने परम्परा कायम छ ।

भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण सम्पत्तिका रूपमा चिनिन्छन् । भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै नेपाली राष्ट्रिय पहिचान र सांस्कृतिक चेतनाको विकासमा उनको योगदान अतुलनीय मानिन्छ ।

भानु जयन्तीका अवसरमा देशभरका विद्यालय, साहित्यिक संस्था, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् लगायतका सङ्घसंस्थाले कविता वाचन, साहित्यिक गोष्ठी, रामायण पाठ तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

नेपाल बाहेक भारतका दार्जिलिङ, सिक्किम, असम, साथै भुटान, म्यानमार ९बर्मा० लगायत नेपाली भाषी समुदायको बसोबास रहेका विभिन्न स्थानमा पनि भानु जयन्ती उत्साहपूर्वक मनाउने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै