विपद्को समयमा कार्यालय नछाड्न स्थानीय तहका कर्मचारीलाई सरकारको निर्देशन 

काठमाडौं । संघीय सरकारले जिल्ला समन्वय समिति तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई विपद्को समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित भएर जिम्मेवारी निर्वाह गर्न परिपत्र गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अविरल वर्षा, बाढी, पहिरोलगायत विपद्जन्य घटनाको जोखिम बढिरहेका बेला जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्रालयले विपद्का समयमा व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा नियमित सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीको सक्रिय उपस्थिति आवश्यक रहेको जनाएको छ ।

परिपत्रमार्फत कर्मचारीलाई विपद्को संवेदनशील अवधिभर बिदामा नबस्न र बिदामा रहेकालाई समेत बिदा छोट्याएर तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

परिपत्रका चार मुख्य बुँदा

१. कार्यालय नछाड्न निर्देशन
विपद्को संवेदनशील अवधिभर कार्यालय नछाडी नियमित रूपमा उपस्थित रहन तथा आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन भनिएको छ ।

२. बिदामा रहेकालाई तत्काल फर्किन आग्रह
हाल कुनै प्रकारको बिदामा रहेका कर्मचारीले बिदा छोट्याएर यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्नुपर्नेछ ।

३. सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्नुपर्ने
विपद्सम्बन्धी सूचना संकलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण र अन्य आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा प्रदेश र संघीय निकायसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ ।

४. पूर्वस्वीकृति लिएर मात्रै कार्यालय छाड्नुपर्ने
विशेष परिस्थितिमा कार्यालय छाड्नुपर्ने अवस्था आए सम्बन्धित निकायको पूर्वस्वीकृति लिनुपर्नेछ । साथै, आफ्नो जिम्मेवारीको उचित व्यवस्था गरेपछि मात्रै कार्यालय छाड्न परिपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै