काठमाडौं । कीर्तिपुरको ट्याङ्लाफाँटमा मंगलबार बिहान आगलागी भएको कारभित्र एक वृद्ध मृत फेला परेको घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानपछि आत्मदाह भएको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालक सिटमा मृत भेटिएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आफैंले कारमा पेट्रोल छर्केर आगो लगाएको प्रमाण फेला परेको हो ।
उनी काठमाडौंको नरदेवीका स्थायी बासिन्दा भए पनि पछिल्लो समय कीर्तिपुरस्थित ग्रीनउड भिल्लामा बस्दै आएका थिए । प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार श्रेष्ठले कार चलाएर ट्याङ्लाफाँटस्थित सुम्लाङकोट नजिकको खाली स्थानमा पुर्याई पार्किङ गरेपछि गाडीभित्र पेट्रोल छर्केर आगो लगाएका थिए । घटनाका बेला उनले कम्मरमा लगाएको सीट बेल्टसमेत नखोलेको अनुसन्धानबाट खुलेको छ ।
सीसीटीभी फुटेजमा एक स्थानीयले कारको ढोका खोल्ने प्रयास गरेको देखिए पनि आगोको लप्काले आफ्नै हात पोलिएपछि उनी पछि हटेका थिए । ढोका खुलिसकेपछि पनि चालक सिटमा रहेका श्रेष्ठ बाहिर ननिस्किएको र आगो नियन्त्रणमा लिएपछि उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार श्रेष्ठले कोभिड–१९ महामारीका बेला विदेशबाट स्वास्थ्य सामग्री आयात गरेका थिए । व्यवसायमा ठूलो आर्थिक क्षति भएपछि ऋणको भार बढ्दै गएको र त्यसको ब्याजसमेत तिर्न कठिन भएपछि उनी मानसिक तनावमा रहेको परिवारले प्रहरीलाई जानकारी दिएको छ । पछिल्लो समय उनले असामान्य व्यवहारसमेत देखाउने गरेका थिए ।
प्रहरीका अनुसार आगलागी भएको कार २०६२ सालमा खरिद गरिएको थियो । यातायात व्यवस्था कार्यालयको अभिलेखअनुसार उक्त सवारीसाधन सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको संयुक्त नाममा दर्ता रहेको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






