काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन (साउन १७ र १८) देशका विभिन्न क्षेत्रमा धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार लगातारको वर्षासँगै गेग्र्यान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेशका केही भूभाग, लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्र तथा कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
यस्तै सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका अन्य केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
मंगलबार पनि कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक उत्तरतर्फ सरेकाले वर्षाको गतिविधि थप बढेको हो ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल ले पनि मनसुन सक्रिय बनेसँगै देशभर वर्षाको क्रम अझ बढ्ने बताएका छन् । उनका अनुसार दिउँसो केही समय मौसम खुल्ने भए पनि साँझपख पुनः अधिकांश क्षेत्रमा राम्रो वर्षा हुने सम्भावना छ, यद्यपि तराईका सबै स्थानमा समान रूपमा वर्षा नहुन सक्छ ।
विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा भए त्यसलाई भारी वर्षा मानिन्छ भने १०० देखि २०० मिलिमिटर वर्षा भए धेरै भारी वर्षा भनिन्छ। त्यस्तै २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा को श्रेणीमा राखिन्छ ।
विभागले भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले नदी–खोलाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा यात्रा गर्ने क्रममा विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






