डिएलए महासचिवमा रविन्द्र प्रधानको उम्मेदवारी, देश दौडाहा तीव्र

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल (डिएलए) को महासचिव पदका उम्मेदवार अधिवक्ता रविन्द्र प्रधानले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । भदौ १९ र २० गते बुटवलमा हुने डिएलए नेपालको राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर उनी देशका विभिन्न जिल्लामा कानून व्यवसायी तथा संगठनमा आबद्ध अधिवक्तासँग भेटघाट र छलफलमा जुटेका छन् ।

भक्तपुरबाट महासचिव पदका लागि सर्वसम्मत उम्मेदवार बनेका प्रधानले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत चाहनाभन्दा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन् । प्रधान पूर्वी नेपालदेखि मध्यनेपालसम्मका जिल्लामा पुगिसकेका छन् । उनले झापा, विराटनगर, उदयपुर, पोखरा, नुवाकोट, धादिङ, चितवन र मकवानपुरलगायतका जिल्लामा कानून व्यवसायीसँग प्रत्यक्ष संवाद गरेका छन्। भेटघाटका क्रममा संगठनको भावी कार्यदिशा, कानून व्यवसायीका पेशागत चुनौती तथा डिएलएको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा सुझाव संकलन गरिएको उनले बताएका छन् ।

नेपाल ल क्याम्पसमा २०४३ सालदेखि इकाइ कमिटी सदस्यका रूपमा विद्यार्थी राजनीति थालेका प्रधानको राजनीतिक र संगठनात्मक यात्रा लामो छ । उनले भक्तपुर नगरपालिकाको नगर सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन् । २०६२/६३ को जनआन्दोलनका क्रममा भक्तपुर नगर स्टेरिङ कमिटीको संयोजक रहेका प्रधान भक्तपुर जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष पनि दुई पटक भइसकेका छन् ।

उनी हाल नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका प्रवक्ताका रूपमा सक्रिय छन् । कानून व्यवसाय, लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणको अनुभवलाई डिएलएको केन्द्रीय नेतृत्वमा उपयोग गर्ने उनको योजना छ । प्रधानले कानून व्यवसायीको पेशागत हकहितका साथै विधिको शासन, स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा डिएलएलाई अझ सशक्त बनाउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् ।

प्रचार अभियानमा उनले व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिएका छन् । महासचिवको जिम्मेवारी पाएमा संगठनलाई प्रदेश र जिल्ला तहसम्म थप सक्रिय बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन् । लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा कानून व्यवसायीको पेशागत हकहितका विषयमा डिएलए सक्रिय रहँदै आएको छ । बुटवलमा हुने राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी कार्यदिशा तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै