जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।
आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिए । आगामी वैशाखसम्म बत्ती बाल्ने गरी काम गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत रु ४३ करोड रहेको छ । यसमा रु ३० करोड वैकल्पिक ऊर्जा र रु १३ करोड पालिका र स्थानीय जनताको लगानी छ ।
जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनपुर्जा धरौटी राखेर रु छ करोड बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् । विद्युत् आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी–१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए ।
आयोजनाको काम दुई प्रतिशतमात्रै बाँकी भनेको महिनौँ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले आयोजनाको अनुगमनसमेत गरेको छ । बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु कम्पनीको लापरवाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।
जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिए । उनले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोजनाबाट तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







