ऐतिहासिक त्रिपुरासुन्दरी भगवती माईमेला सम्पन्न

धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ स्थित धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको त्रिपुरा सुन्दरी माईको दुई दिनसम्म लाग्ने मेला आज सम्पन्न भएको छ । हिजो देखी सुरु भएको सो मेला आज बिहान त्रिपुरा सुन्दरी माईलाई घरबाट माइती घरमा ल्याएर भित्राए पछि सम्पन्न भएको हो ।

सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई मंसिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सार्ने परम्परा छ। पुजारी अर्जुन सापकोटा भन्छन्, ‘बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई हेर्न र छुन पाइँदैन। विशेष किसिमको बाकसमा पूजा कपडाले ओढाएर राखिएको हुन्छ। बाटोको दायाँबायाँ बसेर देवीको दर्शन गर्ने र बाहिरबाटै फूल, अक्षता भेटी चढाउने परम्परा छ।’

अनौठो परम्परा रहेको एक वर्षभित्र घर, माइती र मावली सारिने भगवती माईलाई बुधबार पूजाआजा र अबिरजात्रा गर्दै बाजागाजासहित भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइती घर माइथानबेँसीको मन्दिरमा सारिएको हो।

रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरासुन्दरी भगवती माईको मूर्तिलाई पिठिउँमा बोकेर मन्दिर सार्ने गरिन्छ। कपाल मात्र देखिने गरी भगवतीको प्रतिमूर्तिलाई पञ्चेबाजासँगै नांगो खुँडा, खुकुरी बोकेका युवाहरू, त्यसपछि दियो, कलश, शंख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते सांग्लोको घेराभित्र राखेर सारिएको थियो। 

भगवतीलाई महिला दिदीबहिनीको भोगाइसँग तुलना गरिएको छ। विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहारजस्ता चाडपर्वमा मामाघर जाने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीघर बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइलाई तुलना गरिएको छ। दसैँको चतुर्थीको दिन पूर्वतर्फ दसैँघरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई बुधबार बिहानै न्वागी घर आगिन्चोक हाँसेबजार मन्दिरमा सारिएको हो।

सल्यानकोटमा रहेको दुईवटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ। जुन मामाघरका रूपमा प्रसिद्ध छ। मंसिरदेखि चैतसम्म भगवतीलाई माइतीघरको रूपले चिनिने बेँसीको मन्दिरमा राखिन्छ। बाँकी आठ महिना सल्यानकोटकै पश्चिम थुम्कामा रहेको मूल मन्दिर राखेर पूजाआजा गर्ने चलन छ।

नेपाल एकीकरणका वेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा वास बसेका थिए। राति सपनामा एक बालिकाले आशीर्वाद दिएको किंबदन्ती रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै