• वि.सं २०८२, कात्तिक १ शनिबार
  • Saturday, 18 October, 2025
  • युनिकोड
  • Live

अन्तमा को हुन सक्छन् पर्यटन मन्त्री ? को हुन् चर्चित पाइलट लामासँगै अन्तिम दौडमा रहेका गुरागाईं ?

काठमाडौँ। भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनले देशको राजनीतिलाई आमूल परिवर्तनको दिशामा धकेलिसकेको छ । पूर्वप्रधानन्यायाधीश शुशीला कार्की प्रधानमन्त्री भइसकेपछि उनी सम्बन्धित विषयक्षेत्रका विज्ञलाई राखेर मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा छिन् ।

सरकारले विभिन्न क्षेत्रका विज्ञहरुलाई सोही क्षेत्रको मन्त्रालयको नेतृत्व दिइरहँदा यतिबेला धेरै ठाउँमा विज्ञहरुको खोजी भइरहेको छ । कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले विज्ञका रुपमा नेपाल सरकारमा क्रमशः ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र गृह तथा कानून मन्त्रालय सम्हालिरहँदा पर्यटन क्षेत्रमा पनि त्यस्तै विज्ञको खोजी भइरहेको चर्चा यतिबेला शुशिला कार्की क्याबिनेटभित्र र बाहिर व्यापक रुपमा चलिरहेको छ । यसले उनलाई मन्त्रीमण्डल विस्तार गर्न समय लागेको हो– आजैमात्र थप ३ जना मन्त्री नियुक्त भइसकेका छन् ।

अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा मुख्य गरी दुई जना व्यक्तित्वबीचमा को चयन गर्ने भन्ने प्रधानमन्त्रीको सकस रहेको छ । पूर्व सचिव तथा पर्यटन विज्ञ दिपेन्द्रपुरुष ढकालले प्रधानमन्त्री कार्कीको प्रस्ताव अस्वीकार गरिसकेपछि, विनायक शाहलाई दरबारनिकट भन्ने ट्याग लागिसकेपछि र मधेसका पर्यटनविज्ञ विकासकुमार ठाकुरले आगामी निर्वाचनको तयारीमा लाग्ने बताएपछि अब बाँकी रहेका दुई नाममा अच्युत गुरागाईं र पाइलट विजय लामामध्ये कसलाई अगाडि सार्ने भन्नेमा प्रधानमन्त्री र उनका सल्लाहकारलाई सकस परेको देखिन्छ । जसमध्ये गुरागाईंको काम, अनुभव र विगतको निरन्तर सक्रियताले उनको पल्ला भारी हुने सम्भावना प्रबल छ । 

को हुन् अच्युत गुरागाईं ? 

पछिल्लो ३० वर्षदेखि नेपाली पर्यटनको केन्द्रमा रहेर काम गरेका गुरागाईं अनुभव र योगदानका आधारमा हेर्ने हो भने पछिल्लो पुस्तामा सबैभन्दा अगाडि छन् । रातदिन पर्यटन क्षेत्रमै खटेर लाग्ने गुरागाईं नेपाली पर्यटनका अथक योद्दा हुन् । अंग्रेजी विषयमा स्नात्तकोत्तर गरेका उनी आधा दर्जन भाषामा दखल राख्छन् । नेपालमा सबैभन्दा धेरै पर्यटन आउने छिमेकी देश चीन र भारतीय पर्यटन विज्ञ तथा सरोकारवालासँग उनको दशकौदेखिको गहिरो चिनजान र दर्जनौ पर्यटनमैत्री कार्यक्रममा सहकार्यसहितको सम्बन्ध छ ।

नेपालको नयाँ पर्यटन नीतिमा उनी विज्ञ सदस्य तथा सल्लाहकारका रुपमा काम गरेका व्यक्ति हुन् । नेपाली पर्यटनको सबैभन्दा ठूलो र पूरानो संस्था ‘नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स’ (नाट्टा) का पूर्वअध्यक्ष गुरागाईं आफैँमा पर्यटन अभियन्ता हुन् । उनी पछिल्लो समय नेपालमा फैलिरहेको पर्यटन अभियानमा पनि युवाका सबैभन्दा भरपर्दा र प्रेरणादायी अभियान्ता मानिन्छन् ।

नेपाललाई शान्तिभूमिका रुपमा चिनाउन र विश्वका विज्ञ व्यक्तिहरुलाई नेपाल बोलाएर लूम्बिनी भ्रमण गराउँदै अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न गुरागाइँले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ कार्यक्रम स्थापना गरे । जसले नेपालमा सयौँ देशका मानिसहरुलाई लूम्बिनी प्रवर्द्धन गर्न सहयोग गरेको छ ।

कोभिड महामारीको समयमा थला परेको नेपालको पर्यटनलाई जुरुक्कै उठाउन उनले नाट्टाको तत्कालीन समयको अध्यक्षका रुपमा नेतृत्व लिएर सातै प्रदेशको आन्तरिक पर्यटन चलायमान बनाएका थिए । उनकै प्रेरणा र सक्रियताले नाट्टा सातै प्रदेशमा गठन भएर युवाहरु नेतृत्वमा आएका छन् । गुरागाइँकै सक्रियता र प्रेरणाले नाट्टामा अहिले युवाहरु कुमारमणि थपलिया अध्यक्ष र युविका भण्डारी महासचिव छन् । जबकी होटल एशोसिएसन अफ नेपाल (हान) र ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) मा अहिले पनि युवाहरु नेतृत्वमा आउनै सकेका छैनन् ।

गुरागाइँ नेपाल पर्यटन बोर्डभित्रको भ्रष्ट ब्युरोक्रेसीविरुद्ध हरेक वर्षजस्तो आन्दोलनमा हुन्छन् । बोर्ड नेतृत्वले मात्रै नभई भ्रष्ट कर्मचारीतन्त्रले गर्दा थला परेको भन्दै उनले विभिन्न समयमा दबाबमूलक कार्यक्रम चलाउँदै पनि आएका छन् । बोर्डका कर्मचारीले गर्दा पर्यटन बोर्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवर्द्धन गर्ने युवाहरुलाई सहजीकरण गर्ने स्वयंम गुरागाइँले गर्दै आएका छन् ।

गुरागाईं युवाहरुले सञ्चालन तथा स्थापना गरेको नेपाल टूरिजम फेस्टिभल (एनटीएफ) नेपाल इन्टरनेश्नल टूरिजम एक्पो (नाइट), एभरेष्ट सम्मिटर सम्मिट (इएसएस) कार्यक्रमका एक्ला संस्थापक सल्लाहकार हुन् । पर्यटनमा क्षेत्रमा केही नयाँ काम, कार्यक्रम र अभियान सञ्चालन गर्न खोजेका युवाहरुका लागि गुरागाईं सबैभन्दा ठूला सारथी र प्रेरणाका स्रोत हुन् ।

किन गुरागाईं ? 

सरकारमा आएका नामहरु सामाजिक सञ्जालमा सक्रिय र ‘भाइरलम्यान’ मात्रै रहेको र खास समूहद्वारा सञ्चालित भन्ने आरोप सरकार गठनका सुरुवाती समयदेखि नै लाग्ने गरेको छ । यसबाट बच्न पनि लामो समय पर्यटनको क्षेत्रमा काम गरेका एक विज्ञलाई सरकारमा लैजाँदा नीतिगतरूपमा काम गर्न सहज हुन्छ । उनी हरसमय हरेक व्यक्तिका कुरा सुन्ने धैर्यसहितका व्यक्ति भएका कारण अहिलेको अवस्थामा उनी उपयुक्त पात्र हुन सक्छन् ।

सधैँ युवाहरुकै साथमा रहन रुचाउने गुरागाइँ पर्यटनमा युवाहरुलाई भित्र्याउन निरन्तर सक्रिय भइरहेका छन् । राजनीतिक रुपमा स्वतन्त्र विचारधारा रुचाउने उनी पर्यटनका हरेक निकायमा युवाहरुको सक्रियता चाहन्छन् । युवाहरुले जोखिम उठाएर काम गर्न सके मात्रै देशले मुहार फेर्ने उनको विश्वास छ ।

जेन–जी आन्दोलनले गर्दा देश आमूल परिवर्तनको दिशामा अगाडि बढेको भन्दै उनले अब विषय विज्ञहरुले नेतृत्व लिएर देशका हरेक क्षेत्र तथा निकायहरुलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने उनको धारणा छ । नेपालसहित झण्डै ६० देशको भ्रमण गरिसकेका उनी अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा पोख्त छन् ।

स्वतन्त्र तथा विज्ञहरुको सरकारका रुपमा परिचित अहिलेको जेन–जी आन्दोलनको म्यान्डेडमा गठित अन्तरिम सरकारमा गुरागाइँ नेपालको पर्यटन क्षेत्र हाँक्न सक्ने सक्षम र उपयुक्त व्यक्ति हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
0 %
 Like
50 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै