‘मधेशिया छौड़ा’ प्रधानमन्त्री बनाउने कसम सम्झाउँदै महतोको प्रश्न– विश्वासघात किन ?

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकार सचिनुपर्ने चेतावनी दिएका छन् ।

सार्वजनिक वक्तव्य जारी गर्दै महतोले सरकारले न्याय, समावेशिता र संवेदनशीलताभन्दा पुरानै निरंकुश सोचलाई निरन्तरता दिएको आरोप लगाए । उनले सरकारलाई असंवेदनशील व्यवहार, नियुक्तिमा देखिएको असमावेशिता तथा अधिनायकवादी कार्यशैली तत्काल सच्याउन आग्रह गरे ।

महतोका अनुसार हालैको जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र परिवर्तनको चाहनाको अभिव्यक्ति हो । उनले सय दिनमै सबै अपेक्षा पूरा हुन नसके पनि सरकारको कार्यदिशामा नयाँपनभन्दा ूपुरानै निरंकुशताको गन्धू आएको टिप्पणी गरे ।

उनले गरिब बस्तीमा डोजर चलाउने, सीमावर्ती क्षेत्रमा सर्वसाधारणमाथि कठोर व्यवहार गर्ने, समानुपातिक समावेशिताको उपेक्षा गर्दै मेरिटोक्रेसीको नाममा विभेदलाई संस्थागत गर्ने प्रयास भइरहेको आरोप लगाए । साथै, बजेटले बिचौलिया पुँजीवादलाई प्रोत्साहन गरेको, किसान, युवा, महिला र प्रदेशका हितलाई बेवास्ता गरिएको तथा शिक्षा–स्वास्थ्यजस्ता मौलिक अधिकारमा कर लगाउने नीति जनविरोधी भएको दाबी गरे ।

महतोले गणेश नेपालीको आत्मदाहको घटनालाई राज्यको मानवीय असंवेदनशीलताको उदाहरण भन्दै सरकार मानवताभन्दा कानुनी प्रक्रियामै सीमित भएको आरोप पनि लगाए ।

संविधान संशोधनको सन्दर्भमा उनले संघीयता कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै प्रधानमन्त्रीले मधेश आन्दोलनका शहीद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘जय मधेश’ र ‘बलियो संघीयता’ बनाउने गरेको प्रतिबद्धता स्मरण गराए । उनले सो प्रतिबद्धता केवल निर्वाचनका लागि गरिएको वाचा थियो कि भन्ने प्रश्न उठाए ।

महतोले संघीयता हजारौँ शहीदको बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले जनताको विश्वासमाथि धोका भए त्यसको प्रतिवाद हुने चेतावनी दिँदै मधेशी, थारु, लिम्बुवान, मगरात–खसान, दलित, मुस्लिम तथा पिछडावर्गका ऐतिहासिक माग सम्बोधन हुनुपर्ने बताए ।

वक्तव्यमा राष्ट्रिय मुक्ति पार्टी नेपालले १०ं१ प्रदेश र २४ स्वायत्त क्षेत्रसहित राज्य पुनर्संरचना, केन्द्रीय राजस्वको न्यायोचित बाँडफाँट, समान अवसरको संवैधानिक ग्यारेन्टी, प्रादेशिक भाषामा सरकारी सेवा, समानुपातिक समावेशिता, २०६४ फागुन १४ गतेको ८ बुँदे सम्झौताको कार्यान्वयन, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग दोहोर्‍याएको छ ।

महतोले सभ्यता, स्वशासन र समृद्धिमा आधारित नयाँ राष्ट्रिय पुनर्जागरण आवश्यक रहेको उल्लेख गर्दै सबै लोकतान्त्रिक, पहिचानवादी तथा परिवर्तनकामी शक्तिहरूलाई साझा अभियानमा एकजुट हुन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै