कांग्रेसद्वारा मनसुनजन्य विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी, समन्वय र प्रतिकार्यबारे जानकारी माग गर्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको विषयअन्तर्गत ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६७ अनुसार दर्ता गरिएको प्रस्तावमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्तावकहरूले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटजस्ता प्राकृतिक विपद्को जोखिम बढेको उल्लेख गरेका छन् । यस्तो अवस्थामा सरकारले प्रभावकारी पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको उनीहरूको भनाइ छ ।

प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ उद्धृत गर्दै यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर करिब ५१ हजार ८६८ घरधुरी प्रभावित हुने र २ लाख २६ हजार ६६१ नागरिक जोखिममा पर्न सक्ने अनुमान गरिएको उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दर्ता गरेको उक्त प्रस्तावलाई नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले समेत समर्थन गरेका छन् ।

उक्त प्रस्तावमार्फत सरकारले विपद् पूर्वतयारी, उद्धार, राहत तथा समन्वयका लागि गरेका तयारीबारे राष्ट्रियसभामा स्पष्ट जानकारी गराउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै