पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गर्दैछन् ।

रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा १९८१ साल असार १५ गते जन्मिएका पुष्पलालले प्रवासमा रहेर नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई अघि बढाएका थिए । उनी शहीद गंगालालका भाइ हुन् ।

पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनले विभिन्न कृति तथा लेखमार्फत नेपाली समाजको वर्गीय विश्लेषणसमेत गरेका थिए ।

२००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए ।

त्यसअघि १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर उनले नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए ।

पुष्पलालले नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग सहकार्य गरी संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । उनको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

स्मृति दिवसका अवसरमा नेकपा (एमाले)को राजधानी प्रदेश कमिटीले आज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली कम्युनिस्ट पार्टीलगायत अन्य कम्युनिस्ट पार्टीले पनि विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको स्मरण गर्दै स्मृति दिवस मनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै