सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति 

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनाको विरोधमा देशभर जारी राखेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विषयमा उत्पन्न विवाद समाधानका लागि बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि सरकार र चिकित्सक संघबीच सहमति भएको हो । छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी थिए ।

सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । ऐनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने सहमति पनि भएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा प्रभावकारी कानुनी कारबाही गर्ने र सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ ।

स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा कार्यदल गठन गर्ने र त्यसको कार्यान्वयन प्रगतिको नियमित समीक्षा गर्ने सहमतिमा उल्लेख छ ।

सरकारसँग सहमति भएपछि नेपाल चिकित्सक संघले जारी आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै