ओलीको चेतावनीः पार्टीभित्रको अनुशासनहीनता र अराजकता स्वीकार्य हुँदैन

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाउँदै विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेको चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठा भएको टिप्पणी गरे ।

पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया–समोसा खाँदै अध्यक्ष हटाउने कुरा गर्नु हास्यास्पद भएको उनको भनाइ थियो । महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत भएको उनले बताए ।

‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ,’ ओलीले भने, ‘अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो ।’

विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला सिंगो पार्टी एकजुट भएर अघि बढ्नुपर्नेमा आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने ओलीले बताए । आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अघि बढाइने स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमार्फत पार्टीको बदनामी गर्ने गतिविधि रोक्न निर्देशन दिए ।

यसैबीच ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख भएको दाबी गरे । प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन सञ्चालन गर्ने न्यूनतम दक्षतासमेत नरहेको टिप्पणी गरे ।

खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै नयाँ भनिएकाहरूले प्रक्रिया नबुझेको र परिणाम दिन नसकेको ओलीको आरोप थियो । नाच्न र मादल बजाउन नजान्नेलाई जिम्मेवारी दिँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गर्दै उनले अनुभवहीन व्यक्तिका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको बताए ।

समय बाँकी हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक ढङ्गले चुनावको नाटक गरिएको दाबी गर्दै ओलीले संविधानलाई सही बाटोमा फर्काउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै