रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल 

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

बैठकपछि संसदीय दलका उपनेता गणेश पराजुलीले विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न ७ दिनको समयसीमा तोकेर कार्यदल गठन गरिएको जानकारी दिए । कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारीबोध तथा कानून निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप प्रभावकारी र जनपक्षीय बनाउने रास्वपाको विश्वास छ ।

सभापति रवि लामिछानेसहित शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत कामकारबाहीबारे समेत छलफल भएको थियो ।

बैठकमा सभापति लामिछानेले संसद्मा प्रस्तुत हुँदा सांसद तथा मन्त्रीहरूले अपनाउने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गरेका थिए । पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने तथा आफ्ना माग सम्बोधन नभएको भन्दै सांसदहरूले समेत अमर्यादित र रुखो व्यवहार देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

यही सन्दर्भमा नागरिकका मुद्दालाई संसद्मा प्रभावकारी र मर्यादित ढङ्गले प्रस्तुत गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । संसद्मा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार, संयमित र मर्यादित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै