धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ ।
भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने यस करिडोर भएर दैनिक पूर्वी तराईलाई र पहाडका जिल्ला आवतजावत गर्न साना–ठूला सवारी साधन चल्ने गरेका छन् ।
करिडोरमा यातायातको चहलपहल बढेपछि अहिले धनकुटाको साँगुरी गाउँपालिका र चौबिसे गाउँपालिकामा पर्ने २८ किलोमिटर करिडोर सडक किनारमा होटल सञ्चालन गर्ने क्रम बढेको हो । पच्चीस वर्षअघि शिक्षा र अवसरका लागि धनकुटा सदरमुकाम आएका चौबिसे गाउँपालिका–३ का केशर लिम्बू अहिले आफ्नै ठाउँमा होटल गर्न फर्किएका छन् । उनले चौबिसे–४ फलामेटारमा यही महिनादेखि त्रिवेणी होटल सञ्चालन गरेका हुन् ।
दश वर्षका लागि जमिन र घरभाडामा लिएर रु २५ लाखको लागतमा होटल र लज सेवा सुरु गरेको लिम्बूले जानकारी दिए । हाल कच्ची सडक भएको अवस्थामा करिडोरबाट दुई सयभन्दा बढी साना–ठूला सवारी साधन आवतजावत गरिरहेका छन् । “हाल यस क्षेत्रमा दिन प्रतिदिन होटल थपिने क्रम बढेको छ”, उनले भने ।
यस्तै करिडोरको व्यापारिक सम्भावनालाई देखेर सोही स्थानमा जोरपाटी गाउँपालिका–४ का हरि ओझाले घरभाडामा लिएर रु सात लाख लागतमा होटल सञ्चालन गरिरहेका छन् । उनले दैनिक रु १५ हजारदेखि रु ३० हजारसम्म व्यापार गरिरहेका छन् । करिडोर कालोपत्र हुने भएपछि अहिले उक्त क्षेत्रमा होटलको सङ्ख्यामा वृद्धि भइरहेको उनले जानकारी दिए ।
चौबिसे–४ सदमटारकी ४३ वर्षीया सुस्मिता लिम्बू (राउत) ले पनि होटल सञ्चालन गर्नका लागि रु २० लाख खर्चेर पक्की घर बनाएकी छन् । कृषि पेसामा आबद्ध उनले सडक कालोपत्र भएपछि सानोतिनो होटल व्यवसाय सञ्चालन गर्ने मनस्थिति बनाएकी हुन् ।
त्यस्तै साँगुरीगढी गाउँपालिका–१ का जीवन देवानले पनि धरान–धनकुटा कोशी राजमार्गको मुलघाटस्थित पाँचथर जाने करिडोर प्रवेशद्वार लाबरबोटेमा होटल व्यवसाय थालेका छन् । निर्माण व्यवसायी राईले यात्रु तथा यातायात व्यवसायीको सुझावमा आफ्नो दाजुसँगको सहकार्यमा यही माघदेखि रु १० लाखको लागतमा होटल व्यवसाय सुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







