Dark

प्रचण्डले पाउलान् त विश्वासको मत ?

खबरमुकाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यसपटक सत्तारोहण रोचक रह्यो । गत पुष १० गते प्रधानमन्त्री बनेका प्रचण्ड आफू प्रधानमन्त्री बन्दै गर्दाको गठबन्धन भत्किएसँगै पुनः विश्वासको मत लिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् ।

लामो समयदेखि डेढ दर्जन मन्त्रालय समालिरहेका दाहाल सरकार विस्तारको दबाबमा रहेकाले विश्वासको मत लिएपश्चात मात्रै मन्त्री परिषद् विस्तार गर्ने तयारीमा छन् । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिन लागेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फागुन १३ र नेकपा (एमाले)ले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरको मितिबाट ३० दिन भित्र अर्थात् चैत्र १३ गते सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । 

आफ्नो अन्तिम इनिङ्गलाई विकासमा कोषेढुङ्गा घोषणा गर्ने गरि स्मरण योग्य बनाउने बचन दिएका दाहालले प्रधानमन्त्री बनेदेखि दोस्रो पटक विश्वासको मत लिदैछन् । चैत ५ लग्गत्तै प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारीमा रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । ‘औपचारिक रुपमा ठ्याक्कै मिति तय भएको छैन् । तर, चैत ५ गतेलग्गत्तै विश्वासको मत लिएर सरकार विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ’ गजुरेलले भने । 

त्यस्तै, यसअघि एमालेले लिएका अधिकांश मन्त्रालय कांग्रेसको भागमा पर्ने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले लिएको गृहमन्त्रालयमा सरकारको नेतृत्व गरेको माओवादीको दाबी छ । उक्त मन्त्रालयमा एकीकृत समाजवादीको पनि दाबी छ । 

प्रचण्डलाई कार्यसम्पादन राम्रो देखाएर आफु र आफ्नो पार्टी माओवादी केन्द्रको खस्कदो शक्तिलाई पुनःजिवित गर्नुपर्ने अवस्था छ । विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने भन्दै प्रचण्डले रणनीतिक चातुर्यता देखाइरहेका छन् । यति सम्मकी दर्जनभन्दा माथि उच्च पदको कार्यभार आफै सम्मालिरहेका छन् । प्रचण्डसामु लामो चुनौतिका पहाड छन् । विश्वासको मत लिनुपर्ने पहिलो चुनौति छदैछ । त्यसपछि भागबन्डा मिलाउँदै फरक उदेश्यका दल र तिनका नेताहरुलाई चित्त बुझाउनुपर्ने बाध्यताहरु छन् ।

कांग्रेस अर्थमन्त्रालयसहित करिब ८ मन्त्रालय पाउने सम्भावना रहेको गठबन्धन निकट एक नेताले बताएका छन् । कांग्रेसबाट उपसभापति पूर्ण बहादुर खड्काले पार्टीबाट सरकारको नेतृत्व गर्ने चर्चा छ । खड्का केही दिनअघि सामाजिक सञ्जाल ट्विटरमा आफु मन्त्री हुने दौडमा नरहेको बताएका थिए । खड्का सरकारमा नगए पूर्वमहामन्त्री प्रकासमान सिंह र बिमलेन्द्र निधिमध्ये एकलाई पार्टीको नेतृत्व गर्न पठाउने मनस्थितिमा सभापति शेरबहादुर देउवा छन् । 

प्रधानमन्त्री दाहालले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपाका अध्यक्ष उपेन्द्र यादप र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेतासँग परामर्श गरिसेकेको र अब सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी भएको सचिवालयका एक सदस्यले जानकारी दिएपनि औपचारिक निर्णय भने भएको छैन् ।

माओवादी अध्यक्ष दाहाल एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सो बेलादेखि नै प्रतिपक्षी बेन्चमा बस्दै आएको कांग्रेसले पुष २६ मा भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । त्यसको डेढ महिनामा कांग्रेस माओवादी सहितको ९ दलिय गठबन्धन बनेको हो ।

त्यस्तै, राष्ट्रिय जनमोर्चा बाहेक आठै दल सरकारमा जान आत्तुर देखिएका छन् । रबि लामिछाने नेतृत्वको पार्टीलाई पनि सरकारमा सहभागी गराउने कसरत प्रधानमन्त्री दाहालले गरिरहँदा सरकारमा सहभागि हुन खोज्ने दलको संख्या बढि भएकाले मन्त्रालयको भागबन्डा जटिल बन्दै गएको छ ।

राजनीतिमा असम्भाव भन्ने केही हुँदैन भन्ने त हामीले देख्दै र भोग्दै आएको विषय हो । तर, अहिलेको अवस्था कायम रह्यो भने प्रचण्डले पूर्ण रुपमा आवश्यक विश्वासको मत संसदबाट पाउनेमा दुई मत छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै