बुटवल । बुद्धको अस्तु धातु रहेको नवलपरासी (पश्चिम) रामग्राम स्तूपमा ७ हजार दीप प्रज्वलन गरिएको छ । सोमबार साँझ विश्व शान्तिको कामना गर्दै ७ हजार दीप प्रज्वलन गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शान्ति दीप प्रज्वलनको उद्घाटन गरेका हुन् । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले रामग्रामलाई लुम्बिनीको जस्तै गरी विकास गर्ने गरी कोषले काम गर्ने बताए । उनले विश्वका बौद्ध धर्माम्बलम्बीहरुलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफूहरूले काम गर्न खोजेको बताए । उनले अहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्त्विक स्थलहरूको संरक्षण र वरपर विहार लगायत पूर्वाधार विकास गर्ने बताए ।
कार्यक्रममा रामग्राम नगरपालिकाका नगर मुख धनपति यादवले रामग्रामको विकासका लागि स्थानीय सरकारले धेरै पटक ध्यानाकर्षण गराएको बताउँदै अहिलेको कार्यक्रमले रामग्राम स्तूपको महत्त्व विश्वमाझ पुर्याउने बताए ।
उक्त अवसरमा भिक्षु कोन्डन्य, भिक्षु डेनियलले धर्मदेशना दिँदै रामग्राम बुद्धको अस्तु धातु रहेको पवित्र स्थल रहेकाले यसको महत्त्व विश्वभर फैलाउन आवश्यक रहेको बताए ।
रामग्राम स्तूप गौतम बुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो । यूनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तूपको पुरातात्त्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ ।
रामग्रामको पुरातात्त्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सो क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भ हुँदै छ ।
कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले बताए ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पर्यटन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





